हिक्मत महराको यात्रा: जनयुद्धदेखि कमेडी च्याम्पियनसम्म

काठमाडौं । कमेडी च्याम्पियनको पहिलो भाग हेरिसकेपछि महेन्द्रनगरका हिक्मत महरा हौसिएका थिए । उनलाई ‘म पनि कमेडी गर्न सक्छु’ भन्ने लागेको थियो । जब दोस्रो चरणको सिजन सुरु भयो, उनले डिजिटल भिडियो पठाए । उनी कति सम्म ढुक्क थिए भने, सेलेक्सनमा पर्छु, टप १० मा छानिन्छु भन्ने सुरुमै लागिसकेको थियो ।
कमेडी च्याम्पियनको दोस्रो सिजनमा ६ हजार भन्दा बढी डिजिटल भिडिओ प्राप्त भए । त्यसमध्ये पहिलो चरणमा १ सय ८८ वटा भिडिओहरु छानिएका थिए । त्यसबाट पनि उत्कृष्ट २४ छानिएपछि मात्र कार्यक्रम प्रशारण हुने गर्छ । हिक्मत उत्कृष्ट ४ सम्म पुग्न सफल कलाकार हुन् ।
बैतडीको पुर्चौडी नगरपालिका महरागाउमा जन्मिएका हिक्मत सानैदेखि राजनीतिप्रति रुचि राख्थे । बैतडीकै गलेश्वर माविबाट ६ कक्षा पास गरेका उनले कञ्चनपुरको सिद्धवैजनाथ माविबाट ०६६ मा एसएलसी पास गरे ।
गाउमा छदा जनयुद्धको प्रभाव बढी थियो । उनी पनि कहा अछुतो रहन सक्थे र ? स्कुलहरुमा माओवादी पुग्थे । संगठन बनाउथे । राजनीति बुझाउन र प्रचारप्रसारका लागि अभियानमा पनि लैजान्थे । हिक्मत त्यही बेलादेखि नै राजनीतिमा होमिए । अभियानमा पनि सरिक भए । पछि उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसम्म बने ।
आफै विद्यार्थी राजनीतिमा होमिएकाले हिक्मतलाई राजनीतिक विषयमा कमेडी गर्न सजिलो भयो । आफै विद्यार्थी नेता भएर आफै माथि उनी व्यङ्ग्य गरिरहेका थिए । तर, आफू जोडिएको राजनीतिक पार्टी, नेताप्रति मात्र उनी लक्षित भएनन् । उनले कसैलाई पनि व्यङग्य गर्न बाँकी राखेनन् ।
हिक्मत राजनीतिमा कतिसम्म चासो राख्छन् भने उता कमेडी च्याम्पियनको सुटिङ चलिरहेको हुन्थ्यो । ठीक त्यहीबेला यता माइतिघर मण्डलामा उखु किसानको आन्दोलन चर्किरहेको थियो । उनी उखु किसानका पक्षमा आवाज उठाउन दिनहु माइतिघर मण्डला धाइरहेका हुन्थे ।
लिपुलेक नक्सा जारी गर्नेबेला पनि माइतिघर मण्डलामा आन्दोलनहरु भइरहे । ती दिनहरुमा पनि हिक्मत आन्दोलनकारीकै रुपमा सहभागी भइरहेका हुन्थे ।
‘माइतिघरले चिन्ने अनुहार हो म ।’ हालैको साता ठमेलको छाया सेन्टरमा भेटिएका उनले सुनाए ।
जुनबेला कमेडी च्याम्पियनको दोस्रो सिजन चल्दै थियो । त्यही बेला देशमा महत्वपूर्ण राजनीतिक घटनाक्रम बिकसित भइरहेका थिए । पार्टीहरुबिच अन्तरद्वन्द्व, संसद बिघटन, संसद पुर्नस्थापना, संसद अवरुद्ध जस्ता राजनीतिक किचलोमै देश अल्झिरहेको थियो । नेताहरुको झगडाले कन्टेन्ट बनाउन सजिलो भइदिदो रहेछ । हिक्मतले आफ्नो अनुभव सुनाए । टप १० मा परेपछि मात्र कमेडी च्याम्पियन आफैले शीर्षक दिन्छ । त्यो भन्दा अगाडि आफैले शीर्षक छान्नु पर्ने हुन्थ्यो । एक हप्ताभित्र नयाँ विषयवस्तु छान्ने, लेख्ने, अभ्यास गर्ने काम हुन्थ्यो । बुधबार सुटिङ, शुक्रबार र शनिबार प्रशारण हुने गथ्र्यो ।
महराले प्रस्तुत गरेका कमेडी शीर्षक किसान, छिमेकी, शक्तिशाली नेता एकदमै रुचाइए । उत्कृष्ट १० मा परेपछि उनले प्रस्तुत गरेका १५ मध्ये उनी आफैलाई यी तीन वटा कमेडी चित्त बुझ्ने कमेडी हुन् । यसबाट नसोचेकै प्रतिक्रिया पाएपछि हिक्मतको हिम्मत अझैं बढेको थियो । उनका प्रस्तुतीहरु हसाउँने खालका भन्दा बढी सिरीयस बनाउने खालका थिए । कतिपयले कमेडी च्याम्पियनका पहिलो विजेता हिमेश पन्तलाई बिर्साउने खालका प्रतिक्रिया दिए ।
कमेडी च्याम्पियनमा भाग लिएपछि हिक्मतलाई पहिचान दिलायो । फरक लवज, फरक भाषा, रहनसहन र सोच भएका साथीहरुसँग नजिकबाट चिनजान गर्ने मौका पनि मिल्यो । अझ त्यो भन्दा बढी देश, विदेशमा बस्ने नेपालीहरुको अपार मायाले उनमा झन् उत्साह थपियो । मन्त्री प्रेम आले मगर, पूर्व मन्त्री एनपी सावद, बीना मगर र सांसद डा. दीपकप्रकाश भट्टले उनलाई भेटेर हौसला थपे ।
आफ्नो क्षेत्रबाट अग्रजहरु कमेडी क्षेत्रमा कोही नभएकाले अलि असहज भएको उनको अनुभव छ ।
‘अग्रजहरु यो क्षेत्रमा कोही भएनन् । त्यसमाथि सुदूरपश्चिममा कमेडीका त्यति दर्शक नभए जस्तो लाग्यो ।’ हिक्मतले सुनाए, ‘सुरुमा गार्हो त अति नै भयो ।’ यसअघि स्टेजमा कहिल्यै कमेडी शो नगरेका हिक्मत नयाँ थिए । अरु प्रतिष्पर्धीहरु भने त्यसैमा खारिएका थिए । उनले निरन्तर दमदार प्रस्तुती दिदै गए । प्रतिष्पर्धीहरुलाई हिक्मत कमेडी च्याम्पियन बनिदिन्छन् कि भन्ने डर थियो ।
हिक्मतको विचारमा मानिसहरुलाई हसाउँने एकदमै गार्हो काम हो । दुनियाँमा सबैभन्दा गार्हो काम के हो ? भनेर सोध्यो भने उनको जवाफ हुन्छ, ‘अरुलाई हसाउँने ।’ ‘एउटै कुराले कोही हाँस्न सक्छ । कोही नहाँस्न सक्छ ।’ उनी भन्छन्, ‘उमेर र पुस्ताका कारण त्यसो हुन जान्छ । अरु सांगितिक शोमा अरुको गीत गाए पनि हुन्छ । तर, कमेडीमा आफ्नै प्रस्तुती हुनुपर्छ ।’
उनको अनुभवमा कमेडीमा आफू रोएर पनि अरुलाई हसाउँनुपर्छ । मिहिनेत पनि अति नै गर्नुपर्छ । त्यसमाथि कमेडी बुझ्नका लागि पनि ज्ञान हुनुपर्छ भन्ने उनको मान्यता छ । ‘राजनीतिक विषयमा कमेडी गर्न राजनीति त बुझेकै हुुनुपर्छ ।’ हिक्मत भन्छन् ‘त्यसबाहेक दिनकै अपडेट हुनुपर्छ । सबै पार्टी, नेतालाई समेटेर व्यङग्य गर्न सक्नुपर्छ ।’ कतिपयले भोट तान्न आफ्नो दु:ख देखाउने गर्छन् । तर, उनले त्यसो कहिल्यै गरेनन् । प्रतिभा र कलालाई नै उनले बढी महत्व दिए । प्रतिष्पर्धाबाट बाहिरिदा कतिजना रुने गर्छन् । तर, उनी रोएनन् । बरु उनले अरुलाई रुवाए ।
कमेडी च्याम्पियनमा भाग लिएपछि शो का निर्देशक विशाल भण्डारी महराको मनमा राम्रै छाप छोड्न सफल भए । महराको नजरमा भण्डारीले आफूलाई कहिल्यै ठूलो हुँ भन्ने भान पारेनन् । महरा जी, राजा भनेर सम्बोधन गर्ने निर्देशकबाट महरा एकदमै प्रभावित छन् । ‘सबैसँग बोल्ने, राम्रो तरिकाले सम्झाउने, सबैलाई महत्व दिनु हुन्थ्यो । महरा त्यो अनुभव सुनाउँदै भन्छन्, ‘मान्छे त विशाल दाई जस्तो पो बन्नु पर्छ भन्ने लाग्यो ।’
निर्देशक भण्डारीको संगतबाट महरालाई लाग्यो, निरन्तर काम गर्दै गयो, संघर्ष गर्दै गयो भने सफलता मिल्छ भन्ने लाग्यो । कोहलपुर एक्सप्रेस चलचित्र उति नचले पनि भण्डारीले हरेस नखाएको उनले उदाहरण दिए ।
निर्णायकहरुको प्रतिक्रियाले धेरै फरक पार्ने महराको अनुभव छ । राम्रो र सकारात्मक प्रतिक्रिया पाउँदा अझ राम्रो गर्ने हौसला मिल्छ जस्तो उनलाई लाग्छ ।
अध्ययनका लागि २०७२ मा काठमाडौँ छिरेका हिक्मतले कहिल्यै जागिर गरेनन् । अब पनि उनी जागिर गर्ने सुरमा छैनन् । अर्काको नियन्त्रणमा काम गर्नु उनका लागि गार्हो काम हो । खुसी र स्वतन्त्रता मध्ये एउटा छान्नु परे उनी स्वतन्त्रता छान्छन् ।
जे गरे पनि आफ्नै काम गर्छु भन्ने उनको मानसिकता छ । विदेशमा भन्दा स्वदेशमै रमाउने उनको स्वभाव छ ।
‘अब कमेडी गर्ने कि राजनीति ?’
‘कमेडी नै गर्छु ।’ महरा ढुक्कसित भने ।
‘किनकि त्यसमा मेरो मिहिनेत, समय, उर्जाको लगानी छ ।’ उनले थपे, ‘जीवनको महत्वपूर्ण उमेरमा कमेडीमा प्रवेश गरें । अब किन छाड्ने ?’
२८ वर्षीय हिक्मत अविवाहित छन् । तर तत्कालै विवाह गरिहाल्ने उनको मुड छैन । स्थापित भइसकेपछि मात्र त्यता पट्टी सोच्ने उनी बताउँछन् । उनी कसैसँग मायामा छैनन् । ‘यसलाई माया गर्छु भनेर हुँदैन । माया त ख्यालख्यालमै बस्छ ।’ महरा प्रष्ट सुनिए, ‘तर, माया बसेपछि ख्याल ख्यालमा लिनु हुँदैन ।’










आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
आज विश्व शौचालय दिवस
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया