बिहीबार, फागुन १४, २०८२

पर्वातारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी तालिम

मेरोन्यूज २०७७ चैत १२ गते २०:१४

काठमाडाैं । पर्वातारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष  तालिम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालिम कार्यक्रममा पर्वातारोहण संघ सम्बद्ध ३९ जनाले सहभागिता जनाएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रमको उद्घाटन सत्रमा संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैदेशिक रोजगारलगायत क्षेत्रमा कार्यरत श्रमिकलाई नकारात्मक असर पारेको पाइएको बताए । संघले मानसिक स्वास्थ्यसम्बन्धी विशेष  तालिमको अवधारणा ल्याएको र हालसम्म विभिन्न चरणमा भर्चुअल माध्यमबाट तालिम सञ्चालन भइरहेको बताए ।

विशेष गरेर पर्वातारोहण संघसँगको सहकार्यमा साहसिक नेपाली पर्वातारोही श्रमिक तथा पर्वातारोहण क्षेत्रका अन्य व्यक्तिका लागि यो तालिमले व्यक्तिगत रुपमा मात्रै नभई उसको परिवार तथा समाजलाई समेत फाइदा पुगिरहेको डा केसीको भनाइ थियो । संघले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकलाई विभिन्न गन्तव्य देशहरुमा र नेपाल फर्केपछि पनि राहत तथा उद्दारका लागि सहयोग पुर्याएकाे जानकारी गराए ।

संघका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिक रुपमा समेत असर परेको र पर्वतारोहण एवं ट्रेकिङ व्यवसायमा समेत असर परेको बताए । तालिमले सो क्षेत्रमा संलग्न व्यक्तिहरुलाई सहयोग पुग्ने थापाले बताए । मानसिक स्वास्थ्यका सम्बन्धमा  नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनकाे भनाइ थियो ।

यस्तै संघका स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले संघले टेलिहेल्थको माध्यमबाट देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग पुर्याउनका लागि पहल गरिरहेको जानकारी गराए । कार्यक्रममा नेपाल पर्वातारोहण संघका महासचिव  कुलबहादुर गुरुङ्गले गैरआवासीय नेपाली संघ र नेपाल पर्वातारोहण संघको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताए ।

प्रसिद्ध साहसी पर्वातारोही माया गुरुङ्ग तथा अन्य यस क्षेत्रसँग सम्बन्धित सबै सहभागीले तालिम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि संघबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए । तालिम कार्यक्रममा डा विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण गराएका थिए ।

प्रतिक्रिया