बुधबार, फागुन ६, २०८२

पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

मेरोन्यूज २०७७ चैत २२ गते ९:०१

पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा प्रगति विवरण सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनःनिर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनःनिर्माण गर्न बाँकी रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिए । जिल्लामा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुनःनिर्माणको सूचीमा थिए ।

जिल्लामा १५३ विद्यालयको पुनःनिर्माण, ४४ विद्यालयको शौचालय र ४१ विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख शर्माले कोरोना सङ्क्रमणका कारण गत वर्ष काम गर्न समस्या भएपनि कोरोना नियन्त्रणउन्मुख भएपछि कामले गति लिएको बताए ।

कोरोना नियन्त्रणपश्चात तीनवटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले यो महिनाभित्र काम सक्ने उनले जानकारी दिए । पुनःनिर्माण प्राधिकरणको म्याद आगामी पुससम्म रहेकोले सो अगावै सबै विद्यालयको पुनःनिर्माण सक्नुपर्ने छ ।

जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० विद्यालयमा दुईकोठे, चार विद्यालयमा तीनकोठे र ३९ विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुनःनिर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए ।

भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनःनिर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो ।

प्रतिक्रिया