बिहीबार, फागुन ७, २०८२

निजामती कर्मचारीहरू ‘झिंगा टँसाई’ सोचबाट मुक्त हुन नसकेको उपप्रधानमन्त्रीको टिप्पणी

मेरोन्यूज २०७७ चैत २५ गते १३:५९
Photo: RSS

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिंगा टँसाई’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा ‘झिंगा टँसाई’ सोच प्रमुख समस्याको रूपमा रहेको बताएका हुन् ।

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उनले बताए । त्यसैले निजामती प्रशासनले परिणामलाईभन्दा पनि प्रक्रियालाई जोड दिने गरेको उनले बताए ।

उपप्रम पोखरेलले भने,‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिएतापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नुपर्दछ भन्ने म यहाँहरूसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिच्किचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको बताए ।

उनले भने, ‘कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरू छन जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जीर्ण बनाउँदै लगेका छन् भनेर भन्न सकिन्छ । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिच्किचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृत्तिजन्य संस्कारका ऐंजरुहरू कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।’

कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताए ।

कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्राशासनको मुख्य चुनौती भएको पनि उनले बताए ।

प्रतिक्रिया