शनिबार, फागुन २३, २०८२

सुर्खेतबाट धरान जाँदै गरेको यात्रु बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

मेरोन्यूज २०७८ वैशाख ३ गते २१:१४

राँझा । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ः०० बजे रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो । सुर्खेत साटाखानी निवासी जीवनकुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चारको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

घाइतेलाई कोहलपुरस्थित शिक्षण अस्पतालमा पुर्याइएको छ । अन्य मृतकको अझै सनाखत हुन सकेको छैन । घाइतेमध्ये सातको अवस्था गम्भीर, १४ को मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्णरुपमा क्षतिग्रस्त बस र टिप्परभित्र रहेका घाइतेको उद्धारकालागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया