आइतबार, वैशाख ७, २०८२

निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने

आज सुनको मुल्य घटेको छ

मेरोन्यूज २०७८ वैशाख १७ गते १४:०५

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । निषेधज्ञा जारी भएका जिल्लाहरूमा सुनको कारोबार नहुन र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो देखाएकाले समेत सुन आयातमा प्रभावित हुने भएको हो ।

नेपाल सनुचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि, केही जिल्लामा कारोबार सुरु रहेकाले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । उनले अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जान सक्ने अवस्था नरहेकाले सुन आयातमा प्रभावित हुने भएको हो । अहिले महासंघले दैनिक २० किलो सुन आयात गर्दै आएको थियो ।

सुनको आयातलाई व्यवसाय सुरु भएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन व्यवसायीकै हातमा पर्न जान्छ । अहिले दैनिक २० केजीका दरले सुन वितरण गर्दा सिमित व्यक्तिको हातमा पर्ने वास्तविक व्यवसायी तथा उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने आशंका व्यवसायीले गरेका छन् ।

महासंघका प्रवक्ता मनोज कुमार शाहले कारोबार सुरु रहेका जिल्लाहरुका लागि स्थनीय स्तरमा नै सुनको बिक्री वितरणको व्यवस्था मिलाउन बैंकर्ष एशोसिएशनसँग आग्रह गरिएको बताए । यसका लागि व्यवसायी र एशोसिएसनबीच आवश्यक परामर्श भइरहेको उनको भनाई छ ।

कारोबार सुरु रहेका जिल्लामा विशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उनले व्यवासयीलाई आग्रह गरेका छन् । विगतमा लकडाउन हुँदा वास्तविक व्यवसायी र ग्राहकले सुन उपभोग गर्न नपाएको महासंघले जनाएकाे छ । गत वर्ष बन्दको अवधिमा भण्डै पाँच सय किलो सुन बैंकमा थुप्रिए पनि बजार खुलेको केही दिनमै उक्त सुन सकिएको थियो । तर, यत्रो सुन कहाँ गयो भन्ने तथ्यांङ महासंघसँग छैन । यसर्थ, सुन गायब नहोस् भन्नेतर्फ महासंघ सचेत बनेको छ ।

सामान्यतया व्यवसायीको सिफरिसबिना नै बैंकहरुले सुन बिक्री गरेकाले उक्त तथ्यांङ महासंघसँग नभएको हो । सरकारले निषेधाज्ञा गरेको अवस्थामा केही व्यापारीले जति सुन ल्याए पनि उठाउँछौँ भन्नु आफैमा चलखेल भएको महासंघले जनाएको छ ।

यसैबीच कारोबार हुने साताको अन्तिम दिन सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन आज ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया