सहमति नजिक ओली-नेपाल
टर्यो माधव नेपाल पक्षका सांसदको राजीनामा, कार्यदल बनाएर अगाडि बढ्ने सहमति
नेता नेपालले भने, -‘मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो । फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अवस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेका छौं ।’
काठमाडौं । नेकपा (एमाले)भित्र देखिएको रस्साकस्सी अन्ततः मिलापको दिशातिर अगाडि बढेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका बीच उत्कर्षमा पुगेकाे विवाद समाधान उन्मुख बाटोमा अगाडि बढेको छ ।
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच आज व्यवसायी रामेश्वर थापाको बूढानीलकण्ठस्थित निवासमा झण्डै ४ घण्टा लामो छलफलपछि नेताहरु मिलापको सूत्र खोजी गर्ने दिशातिर केन्द्रित भएका हुन् ।
वैशाख २६ गते नेता नेपालले ओलीसमक्ष राखेको ६ बुँदे मागको पेरिफेरिमा रहेर ओली र नेपालका बीचमा संवाद भएको थियो । संवादपछि नेता नेपालले तत्काल आफूहरुले दिने भनेको राजीनामा टरेको प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिएका छन् ।
ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएको संकेत नेता नेपालले गरे । आजै नेपालसहित नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे भीम रावल र घनश्याम भुसाललाई ओली पक्षले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा गत चैत १६ मा गरेको ६ महिना पार्टी सदस्यबाट समेत निलम्बन गर्ने निर्णयमा परिवर्तन गर्दै कारवाही फुकुवा गर्ने निर्णय लिएको थियो ।
सहमति निर्माणका लागि विष्णु पौडेल, विष्णु रिमाल र सुवास नेम्वाड तथा नेपाल पक्षका घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्ट निरन्तर वार्तामा थिए ।
त्यही वार्तामा भएको छलफलका आधारमा नेपाल पक्षमाथिका ४ नेतालाई गरिएको कारवाही फुकवा गर्न ओली तयार भएका हुन् । त्यस्तै फागुन २८ को निर्णय बाट पछाडि हट्न पनि ओली तयार भएका हुन् ।
पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र फागुन २८ को निर्णयका विषयमा के गर्ने भन्नेमा एउटा विधि बनाएर जाने गरी आजको छलफलमा ओली नेपालबीच समझदारी बनेको छ । त्यो भनेको अब यस विषयको निरुपण गर्न एउटा कार्यदल बनाउने समझदारी भएको हो । नेपाल पक्षले संसदबाट राजीनामा दिने र विपक्षी गठबन्धनले संख्याका आधारमा बहुमतको सरकारको दाबी गर्ने तयारीमा समेत ब्रेक लागेको छ ।
‘मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो । फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अवस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेका छौँ । ‘यसका लागि कार्यदल बन्छ । विभिन्न तहमा वार्ता हुन्छ , वरिष्ठ नेता नेपालले भने ।
नेपाल र ओलीका बीचमा बिहान भएको वार्तापछि भेट गर्ने समझदारी बनेको थियो । ओलीसँग भेटवार्ता अगाडि नेपालले आफू निकटका नेताहरुसँग भर्चुअल संवाद गरेर बूढानीलकण्ठ पुगेका थिए ।
कार्यदल यसरी बन्दैछ
कार्यदल बनाउने सहमति भए पनि कार्यदलमा रहने नेताहरुको नाम सार्वजनिक गरिएकाे छैन । तर कार्यदलमा सुवास नेम्वाड, विष्णु पौडेल, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट रहने करिब टुंगिएकाे छ । तर थप अन्य दुई जनाको नाम भने पछि तय गरिने नेताहरुको भनाइ छ ।
प्रतिक्रिया