विपक्षीप्रति ओली झन् कठोर
देउवा, प्रचण्ड र माधवप्रति ओलीको झटारै-झटारो
उहाँहरुले व्याख्या गर्नुभयो- राजनीतिमा अनुशासनहीन र अराजक ‘सोलो डान्स’लाई मान्यता दिनुपर्छ । तर त्यस्तो हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी ओली विपक्षीप्रति झन कठोर देखिएका छन् । उनले आफूविरुद्ध मोर्चाबन्दीमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईमाथि तिखो प्रहार गर्दै आक्रामक बनेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी नेताहरुमाथि कडा शब्दमा आलोचना गर्दै झटारो बर्साएका हुन् । उनले कांग्रेस सभापति देउवालाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि अहिले प्रचण्डपथ अंगिकार गरेर कुदेको भन्दै आलोचना गरेका थिए ।
राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने ठाउँविरुद्ध कही उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ नहुने भन्दै प्रधानमन्त्री ओलीले अहिले केही बुद्धिजिवीहरू न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिएको आरोप पनि लगाए ।
कसलाई के भने प्रधानमन्त्रीले ?
माधव नेपालबारे :
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध विपक्षीसँग साँठगाँठ । यो निलज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो । यस्तो दुनियाँमा रेकर्ड छैन । बस्न मन छैन भने इमान देखाउँछन् । म एमालेको वरिष्ठ नेता भनेर सही गरेर लाजमर्दो गरी जाँदैन । एमालेका नेताविरुद्ध विपक्षी पक्षमा हस्ताक्षर गरेर म एमालेको वरिष्ठ भनेर ङिच्च दाँत देखाएर बस्ने ? यति निर्लज्जता दुनियाँमा कही देखिएको छैन ।
डुप्लिकेट पार्टी दर्ता गरेको, षड्यन्त्र नै षड्यन्त्र गरेको छ । हामीले स्पष्टीकरण सोधेका छौँ । उहाँहरुको जवाफ हेरौं, तदनुसार जे गर्नुपर्ने गर्छौं ।
केहीलाई भ्रममा पारेर पनि सही गराएको देखिएको छ । सच्चिएर आउन खोज्ने, गल्ती महसुस गर्ने साथीहरूलाई फेरि साथै लिएर अगाडि जान तयार छौँ । यो उहाँहरुको हातमा छ । भीरबाटै खस्ने हो भने त हाम्रो के लाग्छ !
कांग्रेसबारे :
आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि अहिले प्रचण्डपथ अंगिकार गरेर कुदे जस्तो लाग्छ । सत्ता कब्जाको बाटोमा । सरकार चलाउन पनि नदिने, काम गर्न नदिने, सधैँ वितण्डा खडा गर्ने, कुप्रचार, असभ्य प्रचार गर्ने, जनतामा भ्रम फिजाउन खोज्ने प्रयास हुँदै आए र गत वर्षदेखि यो अत्यन्तै तीव्र भए । मलाई ताज्जुब लाग्छ ।
केपी ओलीले गराएको चुनावमा भाग लिँदैन भन्नु भयो । कसले गरेको चुनावमा भाग लिने त ? केपी ओलीले गरेको चुनावमा भाग नलिने हो भने कसले गरेको चुनावमा भाग लिने ? भाग लिन नेपाली कांग्रेसलाई प्रधानमन्त्री टीको लगाइदिने कि ?, अहिलेको प्रधानमन्त्री देशमा धेरै पपुलर भोट भएको, दुई पार्टी मिल्दा पनि प्रतिनिधिसभामा एक्लो ठूलो पार्टीको नेतृत्वको चुनावमा नजाने । कुन डेमोक्रेसीको परिभाषा भित्र पर्छ यो ? नेपाली कांग्रेको बोली सुनेर मलाई आश्चर्य लागेको छ ।
कांग्रेस अहिले उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा…। आफूले चुनाव गराउन पर्ने । आफैले गरेको चुनावमा उहाँहरू २३ सिटमा झरेको हैन ? अनि आफ्नै नेतृत्वमा चुनाव हुनुपर्छ भन्ने के भनेको त्यो ? म सबैलाई आग्रह गर्छु, आवेश उत्तेजनाको राजनीति नगरौँ ।
चुनाव हुँदैन भन्ने माधव-प्रचण्डको खेती हो । चुनाव भयो भने उनीहरूको बेहाल हुन्छ । माधव नेपालसँगको सम्बन्ध अब पास्ट टेन्स भयो ।
सर्वाेच्च जान्छु भन्नेबारे
अब मोर्चा कसेर मुद्दा हाल्ने रे, एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरैले मुद्दा हाले पनि सच्चाई, सच्चाई नै हो । न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । न्यायलाई त्यसरी प्रभावित पार्न खोज्नु हुँदैन ।
मैले अगाडि विश्वास गरेको थिइनँ कि विश्वासको मत पाउँछु भन्ने । तर, कहिलेकाही राजीनामा चाँडै परिवर्तन हुन्छ । परिस्थितिमा तत्कालै परिवर्तन हुन्छ । त्यसै भएपछि मैले हाम्रो १२१ र जसपाको ३२ गरेर १५३ को दाबी गरेको हुँ ।
वैकल्पिक सरकार बन्न नदिन उहाँहरूले फर्जी हस्ताक्षरसहितको दुषित कागज राष्ट्रपति कहाँ पेस गर्नुभयो । दुवैतिर एउटै मान्छेको हस्ताक्षर पुगेपछि राष्ट्रपतिलाई अलमल भयो । यो दलीय व्यवस्था हो । यो व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन । तर, उहाँहरुले व्याख्या गर्नुभयो- राजनीतिमा अनुशासनहीन र अराजक ‘सोलो डान्स’लाई मान्यता दिनुपर्छ ।
कानुनविद् र बुद्धिजिवीबारे :
एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला लोकतन्त्रका नाममा यस प्रकारका घृणित क्रियाकलाप गर्न ? राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतीक रहेको संस्थालाई प्रेत, सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने ।
म कानुनविद्, संविधानविद् मित्रहरू, बहसमा उत्रिएका बौद्धिक वर्गका मित्रहरूलाई आग्रह गर्दछु, राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने यो मात्रै ठाउँ हो । त्यसमाथि कहाँ उजुरी लाग्न वा त्यसमा कुनै हेरफेर गर्न सकिने स्थिति हुँदैन ।
प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति तोक्ने छ । संविधानको व्यवस्था हो यो । संविधानको धारा ७६(५) अनुसार सरकार बन्न नसकेपछि अर्को कुनै विकल्प छैन । यसमा कू कहाँ भयो ? केही बुद्धिजिवीहरू न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको गलत प्रयोग गरेर अपव्याख्यामा उत्रे ।
राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्र एउटा ठाउँ हो । त्यसविरुद्ध कही उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन । न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिनु दुःखको कुरा हो । संविधानको धारा ७६(५) अन्तर्गत सरकार गठनका लागि समय दिएर गरेको दाबीमा राष्ट्रपति ज्यूले आफूले आफ्नो अधिकारको प्रयोग गरेर भरपर्दो आधार नपुेको ठहर गर्नुभयो । राष्ट्रपतिले ठहर गर्दा दाबी नपुगेको देख्नु भयो ।
पूर्व प्रधानमन्त्रीबारे :
कुनै भ्रममा नपर्नुहोस् । अहिले अस्वस्थता मच्चाउने को छन् ? चार पल्ट प्रधानमन्त्री भएका, पार्टी सभापति भइसकेका, ७० भन्दामाथि उमेर कटिसकेका, अब लिनु र दिनु केही नभएका मान्छे अस्तव्यस्तता मच्चाइरहेका छन् । युवाको भविष्य र बालबालिकाको भविष्य होइन । आफ्नो अहम् र आफ्नो इगोको चिन्ताका लागि लडेका छन् ।
१५-१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे । फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन् । यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरिने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ । त्यस महत्वकांक्षाले देश बिग्रदै छ। पुराणमा वर्णित कथाअनुसार अगस्ति भनेका समुन्द्रको सम्पूर्ण जल पान गर्ने एक ऋषि हुन् । अगस्ति ऋषि मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको विर्य कुम्भमा पर्दा जन्मेको मानिन्छ ।
चुनावबारे :
लोकतन्त्रलाई जिताउनु मेरो कर्तव्य हो । म कति बाँच्छु थाहा छैन । तर लोकतन्त्र सधै बाच्नुपर्छ । मेरो पार्टीले चुनाव जित्छ वा जित्दैन थाहा छैन । लोकतन्त्रले सधै जित्नुपर्छ । मेरो लडाइँ आफ्ना निम्ति होइन । जब मान्छे बृहत् लक्ष्यका लागि लड्छ तब मात्र ज्यान जोखिममा राख्न सक्छ । मैले सधै ज्यान गोखिममा राखेको छु ।
मैले गराउने चुनाव निष्पक्ष हुन्छ, लोकतान्त्रिक आचारणभन्दा बाहिर गएर चुनाव हुँदैन । मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपूर्ण वातावरणमा हुनेछ । स्वतन्त्र र निष्पक्ष ढंगले हुनेछ त्यसमा ढुक्क हुनुहोस् ।
सरकारबारे :
अहिले ७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरूको संसदको हैसियतअनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।
प्रतिक्रिया