कांग्रेस महाधिवेशन
समय घर्किसक्यो, गतिविधि ठप्प
नेता आनन्दप्रसाद ढुंगाना भन्छन्, ‘तोकिएको समयमा हामीले सभापतिलाई प्रतिवेदन बुझाउन सक्ने अवस्था छैन ।’

काठमाडौँ । गत ६ फागुन २०७७ को केन्द्रीय समिति बैठकको निर्णयअनुसार क्रियाशील सदस्यता छानबिन समितिले ३१ जेठसम्म नयाँ र नवीकरणको सम्पूर्ण निर्णय गरेर अन्तिम नामावली सभापति शेरबहादुर देउवालाई बुझाउनु पर्छ । त्यो नामावलीलाई देउवाले प्रमाणित गरी ७ असारमा केन्द्रीय कार्यालयले सदस्यताको अन्तिम नामावली प्रकाशित गर्ने र २० असारमा गाउँ/नगरका वडा अधिवेशन गर्ने कार्य तालिका छ ।
तर, २५ जेठसम्म क्रियाशील सदस्यता छानबिन समितिले वैशाख ३०, २०७८ मा ४५ जिल्लाका ८० र जेठ १५ गते १६ जिल्लाका २१ स्थान गरी कूल १०१ स्थानको क्रियाशील सदस्यताको नामावली मात्रै पार्टीको आधिकारिक वेव साइटमा सार्वजनिक भएको छ ।
‘सामान्यतया नामावली सार्वजनिक भएपछि कहाँ, के बदमासी भएको हो, सम्बन्धित व्यक्तिले थाहा पाउने हो । त्यसपछि मात्रै उजुरी आउँछ । त्यसपछि बल्ल हामीले हेर्ने हो । अहिले उजुरी आउनेसम्मको काम भएको छैन । लिष्ट सार्वजनिक नै भएको छैन,’ छानबिन समितिका एक सदस्य भन्छन्, ‘कहिले सार्वजनिक गर्ने भन्ने टुंगो छैन, कसरी १३ दिनमा बुझाउने हो ।’
त्यतिमात्रै होइन अहिलेसम्म सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुमा क्रियाशील सदस्यता वितरण सुरू नै नभएको छानबिन समितिका ती सदस्यले भने । तर, केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अहिले ८ लाखभन्दा बढी सदस्यताको इन्ट्री भइसकेको जानकारी दिए । उनका अनुसार ९ लाखको बीचमा क्रियाशील सदस्यता दिने योजना कांग्रेसको छ ।
अहिले ७६ जिल्लामा क्रियाशील सदस्यता वितरण कार्य भइरहेको उनले बताए । पौडेलका अनुसार, आजसम्म ७६ जिल्लामा सदस्यता दिने काम भइरहेको छ । भोलि एक जिल्ला सिन्धुपाल्चोक थप गरी ७७ जिल्लामा पुग्ने छ । ‘अहिले ७६ जिल्लाको इन्ट्री भइरहेको छ, बारा र सप्तरीको जुन सदस्यता दिनेमा देखिएको विवाद समाधान भइसकेको छ,’ मुख्य सचिव पौडेलले भने, ‘उनीहरूले क्रियाशील बाड्ने कार्यसँगै इन्ट्री आज जेष्ठ २५ गते राति १२ बजेबाट केन्द्रीय कार्यालयको पासपोट बन्द गरिन्छ ।’
वितरण भएका मध्य प्रदेश–२ का धनुषा, सर्लाही, रौतहट, पर्सा र सिराहामा सदस्यतामा विवाद रहेको छानबिन समितिमा उजुरी परेको छ । लुम्बिनी प्रदेशका बर्दिया, बाँके, रुपन्देही, रोल्पा, दाङ, सिन्धुपाल्चोक, काठमाडौँ र काभ्रे, प्रदेश–१ का धनकुटा, सुनसरी र मोरङमा तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा विवाद छ ।
विवादित स्थानमा वैशाख १६ गतेबाट १० दिनका लागि प्रारम्भिक नामावली पार्टी सर्भरमा इन्ट्रीको समय दिइएको थियो । त्यो समय आज सकिएको छ । छानबिन समिति स्रोतका अनुसार अहिलेसम्म इन्ट्री पनि पूरा भएको छैन । दुई चरणमा सार्वजनिक गरिएका स्थानमा पनि व्यापक उजुरी परेका छन् । तर, उजुरीको पोको समितिले अझै खोल्न सकेको छैन ।
समिति संयोजकका परिवारै कोभिड संक्रमित, गतिविधि ठप्प
गत ६ फागुनमा कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी रहेको क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो । समिति संयोजक लेखक १५ जेठमा १६ जिल्लाका २१ स्थानको नामावली सार्वजनिक गरेपछि कोभिड संक्रमण भएर घरमै छन् । त्यसपछिका गतिविधि ठप्प रहेको र तोकिएको समयमा अन्तिम प्रतिवेदन बुझाउन सक्ने अवस्था नरहेको सदस्य आनन्दप्रसाद ढुंगानाले बताए ।
‘तोकिएको समयमा हामीले सभापतिलाई प्रतिवेदन बुझाउन सक्ने अवस्था छैन,’ ढुंगानाले भने, ‘सबै कामको बल्ल ३० प्रतिशत जति मात्रै काम भएको छ, धरै चरण पार गर्न बाँकी छ, त्यसबारे हामीले सभापति र केन्द्रीय समितिलाई जानकारी गराउँछौँ ।’
छानबिन समिति सदस्य पौडेलले मापदण्ड बनाएर कडाइका साथ लागू गर्न नसके तोकिएको मितिमा अधिवेशन गर्न गाह्रो हुने बताए । ‘क्रियाशील सदस्यता छानबिन गर्ने समय हामीसँग अत्यन्तै थोरै छ,’ पौडेल भन्छन्, ‘थोरै समयमा कस्ता प्रकृतिका विवाद आउँछन् । र, समाधान गर्न के गर्नु पर्छ भन्ने मापदण्ड बनाउने र त्यो मापदण्डलाई कडाइका साथ लागि गर्ने हो भने मात्रै अधिवेशन हुन सक्छ ।’
सदस्यताकै काम नसकिएपछि अन्य गतिविधि अगाडि बढ्ने कुरा भएन ।
यी हुन नामावली सार्वजनिक भएका १०१ स्थान
प्रतिक्रिया