‘स्मार्ट निषेधाज्ञा’बारे गृह मन्त्रालयदेखि सिडिओ नै अनविज्ञ

काठमाडौँ । सरकारले आगामी मंगलबार अर्थात ८ गतदेखि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी गरेको छ । सरकारले आर्थिक क्षेत्र चलायमान बनाउने भन्दै जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरेको हो । यसअघि सरकारले आगामी २५ गतेसम्म कर बुझाई सक्न सबै करदालाताई ताकेता गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना संक्रमण घटाउने रणनीति बनाएको छ । सोहीअनुरुप काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छन् ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को बैठक आज साँझ पाँच बजे बस्ने भएको छ । सो बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने तयारी थालेको हो ।
उपत्यकाका सिडिओहरू काली प्रसाद पराजुली, प्रेम प्रसाद भट्टराई र ढुण्डी प्रसाद निरौलाको बैठक बस्न लागेको हो । बैठकले निषेधाज्ञालाई केही खुकुलो गर्ने तयारी गरेको उनीहरूले जानकारी दिए । तर, कसरी निषेधाज्ञा खुकुलो बनाउने भन्नेबारे पूरा जानकारी नभएको बताए ।
सिसिएमसीले आगामी निषेधाज्ञाको मोडालिटी नदिएकाले अहिले नै केही भन्न नसकिने ललितपुरका सिडिओ निरौलाले बताए । उनले भने, ‘मंगलबारदेखि निषेधाज्ञा केही खुकुलो बनाउने तयारी हुँदै छ, तर के कसरी खुकुलो बनाउने भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन ।’
यस्तै, भक्तपुरका सिडिओ भट्टराईले मंगलबारदेखि निषेधाज्ञालाई व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाएर लैजाने बताए । उनले सिसिएमसीले अहिलेसम्म मोडालिटी नदिएकाले के खुल्ने, के नखुल्ने केही भन्न नसकिने बताए । तर, सिसिएमसीले अब स्मार्ट निषेधाज्ञा गर्ने जनाएको छ ।
‘स्मार्ट निषेधाज्ञा’बारे अनविज्ञ सिडिओ
कोरोका कारण जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी हुँदै गर्दा ‘स्मार्ट निषेधाज्ञा’बारे चर्चा सुरु भएको छ । तर, स्मार्ट निषेधाज्ञाबारे उपत्यका सिडिओहरू नै अनविज्ञ भएका छन् । उनीहरूले स्मार्ट निषेधाज्ञाबारे आफूहरूलाई थाहा नभएको बताएका हुन् ।
िससिएमसीले निषेधाज्ञाको मिडालिटी नदिएकाले स्मार्ट निषेधाज्ञाबारे जानकारी नभएको उपत्यकाका सिडिओहरूले बताए । “पाँच बजे बैठक बस्छौँ, स्मार्ट निषेधाज्ञाको बारेमा आधिकारिक धारणा हामी कहाँ आइपुगेको छैन,’ भक्तपुरका सिडिओ भट्टराईले भने, ‘अलि व्यवस्थित, अलि खुकुलो हुन्छ, स्मार्ट निषेधाज्ञाको बारेमा मलाई पनि थाहा छैन ।”
यस्तै, ललितपुरका सिडिओ निरौलाले मंगलबारदेखि निषेधाज्ञा अलि खुकुलो हुने बताए । तर, उनले स्मार्ट निषेधाज्ञाको बारेमा थाहा नभएको बताए ।
स्मार्ट निषेधाज्ञाको बारेमा गृह मन्त्रालयसमेत बेखबर रहेको छ । मन्त्रालयका सूचना अधिकारी खुमकान्त आर्चायले स्मार्ट निषेधाज्ञाका बारेमा जानकारी नभएको बताए । उनले सिसिएमसीले परिभाषा नगरेकाले यही हो भन्न नसकिने बताए ।
काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको थियो । त्यसपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । सरकारले जेठ २१ गतेदेखि निषेधाज्ञालाई केही खुकुलो बनाउँदै गएको थियो ।
पछिल्लोपटक थपिएको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न दिएको छ । यस्तै, वर्कसपहरु निजी तथा सार्वजनिक निर्माणको क्षेत्रमा काम गर्न दिएको छ ।
स्मार्ट निषेधाज्ञा भनेको कोभिड–१९ फैलिएको क्षेत्रमा पिसिआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य मापदण्ड प्रभावकारी बनाउने प्रावधानलाई बुझिन्छ । यस्तै, आर्थिक गतिविधिलाई चलयमान बनाउनु, जनजीवन सहज बनाउँदै लैजानु हो ।
स्मार्ट निषेधाज्ञामा प्रायः सबै क्षेत्र खुल्नेछन् । तर, दिन वा बार तोकेर खोलिने उपत्यकाका सिडिओहरूले संकेत गरेका छन् । यस्तै उनीहरूका अनुसार गाडीहरु जोड बिजोर वा संख्याको आधारमा खुल्ने छन् ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।
प्रतिक्रिया