आइतबार, चैत २२, २०८२

बाढीले घर डुब्दा पेट भर्न कठिन, सहयोग गर्न कोही आएनन्

मेरोन्यूज २०७८ असार ७ गते १२:१३

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक बितेको छ । महाकाली नदीको बाढीले कहिल्यै डुबानमा नपरेको उसको घर यो वर्ष डुवानमा परेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बाढीले उनको घरसहित बस्ती नै डुबानमा परेको छ । ‘योभन्दा पहिले हाम्रो बस्तीमा बाढी आउदैन थियो, चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो,’ उनले भने, ‘दुई दिनदेखि त्रिपालमा बसिरहेको छु ।’

बस्ती पूरै डुबानमा परे पनि सहयोगका लागि कोही नआएको उनको गुनासो छ । ‘दिनभरि मजदूरी गरेर साँझबिहान हातमुख जोर्ने जोहो मिलाएका थियौँ, सबै बाढीले बगाएर लग्यो,’ एरीघाटका अर्का बाढीपीडित जयसिंह चैसिरले भने, ‘अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ ।’

चुनावमा भोट माग्न नेता तथा कार्यकर्ता आए पनि अहिले कसैले वास्ता नगरेको उनको भनाइ छ ।

महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी बस्तीमा पसेको हो । सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयवासीको भनाइ छ ।

‘बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ, त्यतिबेला कसैले सुनेनन्,’ स्थानीय प्रमोद भट्टले भने, ‘अहिले बस्ती नै डुबानमा परेको छ ।’

बस्तीका २० वटा घरमा २ फिटसम्म पानी जमेपछि बाढी पीडितहरू अर्काको घरमा शरणमा बस्दै आएका छन । कतिपय पीडित त्रिपाल मुनि बस्न बाध्य भएका छन् । जोखिम अवस्थामा रहेका केही परिवारलाई वडा कार्यालय र नजिकको विद्यालयमा राखिएको छ ।

‘घरभित्र बाढी पस्यो खाद्यान्न र कपडा सबै बगाएर लग्यो, बालबच्चदेखि सपरिवार भोकै छौँ,’ भट्टले भने, ‘भुजेला खोलाको पानीको निकास नखोजिए यसवर्ष हाम्रो उठिबास हुन्छ ।’

महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त १२ का वडाध्यक्ष कृष्णसिंह देउवाले बताए । नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ ।

अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ । असार पहिलो सातामै बाढीले दुःख दिएकोमा स्थानीबासी चिन्तित भएका छन । नदीमा पानी बढेपछि रातिमा सुत्न नसकेको उनीहरूले बताएका छन् ।

पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएसँगै महाकाली नदीको बहाव अहिले घट्दो अवस्थामा छ । नदीमा पानीको सतह घटे पनि डुबानमा परेका परिवारको सबै खाद्यान्न भिजेर काम नलाग्ने भएको छ । उनीहरूलाई साँझ बिहानको छाक टार्न कठिन भएको छ । वडा र नगरपालिकाबाट सहयोग नपाएको उनीहरूको गुनासो पोखे ।

प्रतिक्रिया