एमालेमा दोश्रो अध्यक्षको प्रस्तावमा ईश्वर पोखरेलको असहमति
एमालेले शनिबार बोलायो स्थायी कमिटि बैठक
काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउन आएका अनेकौं प्रस्ताव मध्ये दुई अध्यक्षात्मक प्रस्तावको महासचिव इश्वर पोखरेलले असहमति जनाएका छन् । शुक्रबार थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर कार्यक्रममा पत्रकारहरुसँग कुरा गदै महासचिव पोखरेलले दुई अध्यक्ष बनाउने प्रस्ताव स्वीकार्य नहुने बताएका हुन् ।
विवाद मिलाउन माधव नेपाललाई दोस्रो अध्यक्ष दिने प्रस्ताव आफुले पठाएको अध्यक्ष केपी ओलीले साउन ७ गतेको पार्टी केन्द्रीय कमिटि बैठकमै समेत बोलेका थिए । तर पनि माधव नेपाल ओलीको त्यस्तो प्रस्तावमा सहमत नभईरहेका बेला महासचिव इश्वर पोखरेलले दुई अध्यक्ष बनाउने प्रस्ताव स्वीकार्य नहुने बताएका हुन् ।
पार्टीको विधि र विधानभन्दा फरक ढंगले कुनै पनि काम हुन नसक्ने भन्दै महासचिव पोखरेलले दुई अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने धारणा राखेका हुन् ।
नेपाल स्वंम्ले दोस्रो अध्यक्ष स्वीकार गरेका भने छैनन । उनले दोस्रो अध्यक्ष दिने भनेपनि नमानेपछि बराबरी हैसयतका दुई अध्यक्ष बनाउने र निर्णय प्रक्रियामा पनि दुवै अध्यक्षको हस्ताक्षर चल्ने सम्मको प्रस्ताव ओलीका तर्फवाट माधव नेपाल सामु पुगेका छन् ।
गत साउन ७ मै उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाडले ओलीका तर्फबाट त्यस्तो प्रस्ताव बोकेर नेपालकाहा पुगेका थिए । तर त्यसमा पनि नेपालले विश्वास गर्न सकिरहेका छैनन । नेपालले पछिल्लो पटक नेतृत्व सम्वन्धी ३ ओटा विकल्पमा छलफल गर्न सकिने प्रस्ताव अगाडी सारिरहेका छन् । नेपालले पहिलो विकल्पमा पार्टीमा वराबरी हैसियतका दुई अध्यक्ष बनाउने, निर्णय प्रक्रियामा पनि दुवै अध्यक्षको हस्ताक्षर चल्ने र अर्काे अध्यक्ष झलनाथ खनाललाई बनाउनु पर्ने प्रस्ताव अगाडी सारेका छन् ।
दोस्रो, अध्यक्ष मण्डल बनाउने गरी जाने । त्यसो हुँदा ओलीसहित झलनाथ खनाल र बामदेव गौतम समेत रहेको अध्यक्षमण्डल बनाउने प्रस्ताव दोस्रो नेपालको छ । तेश्रोमा सहमति जुटाउन ओली र आफु सहितले नेतृत्व छोडेर दोस्रो तहका नेतालाई जिम्मेवारी दिने प्रस्ताव पनि छ । तर यसमा ठोस कुरा हुन सकेको छैन । ओलीक तर्फवाट विकल्पमा छलफल गर्न विहिवार सुवास नेम्वाड र शुक्रवार दिउँसो विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुगेर छलफल चलाईरहेका बेला महासचिव पोखरेलले भने दुई अध्यक्षको प्रस्ताव स्वीकार्न नसकिने भन्दै असहमति जनाएका हुन् ।
विवाद समाधानका लागि गठित कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको पोखरेलको भनाई थियो ।
‘फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं,’ पोखरेलले भने, –‘त्यसमा जाँदाखेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै सबैले पालना गर्नुपर्यो ।’
माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए । उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिएका छन् । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह गरेको छ ।
एमालेले शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको महासचिव पोखरेलको भनाइ छ ।
प्रतिक्रिया