दिल्लीबाट हराएका व्यक्ति ३५ वर्षपछि काभ्रेमा भेटिए
काठमाडौँ । बुवासँग उपचार गर्न दिल्ली पुगेका स्याङ्जा जिल्लाको वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । पिसाबमा समस्या देखिएपछि दिल्लीमा उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासँग गएका शोभाकान्त लामिछाने परिवारको सम्पर्कमा आएका हुन् ।
उनलाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन् । करिब ११ वर्षको उमेरमा बुवासँगै दिल्ली पुगेका बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताइन् ।
‘बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइपर्यो,’ आमा हिमादेवीले भनिन्, ‘आफ्नै कोखबाट जन्मेको जेठो छोरो बेपत्ता भएपछि कति पीडा भयो, कति रोएँ, कराएँ सीमा नै भएन ।’
सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको उनले बताइन् । ‘छोरो बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत गर्यौँ, धेरै उपायहरु लगायौँ तर अत्तोपत्तो लागेन,’ उनले भनिन्, ‘साँझ बिहान भगवानलाई दियो बाल्दा पनि त्यही छोरालाई सम्झिन्थेँ, आज भगवानले पुकार सुन्नुभयो ।’
फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाई हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकार साथीहरुको सहयोगमा भाइलाई फेला पार्न सफल भएको दाजु पूर्णचन्द्र लामिछानेले बताए । काठमाडौँमा रहेका आफन्तसहित पुगेर भाइलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएर फर्किएको र आइतबार वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारीमा रहेको दाजु पूर्णचन्द्रले बताए ।
‘म नजिन्मिँदै धेरै पहिला बुवासँग दाजु उपचारका लागि दिल्ली जानुभएको रहेछ,’ भाइ रमेश लामिछानेले भने, ‘दिल्लीबाट हराउनुभएको हो भन्ने सुनेको हुँ, अहिले काभ्रेको बनेपास्थित एक होटलमा काम गर्दै हुनुहुन्छ भन्ने सामाजिक सञ्जालमा देखेपछि र दाजुले भनेका कुरा र हुलिया मिलेपछि पहिचान भएको हो ।’
काठमाडौँमा रहेका गाउँका आफन्तले दाजुलाई भेटिसकेको र यताबाट लिनका लागि आइतबार (भोलि) जाने तयारी भएको भाइ रमेशले बताए । झण्डै ४६ वर्ष पुगेका दाजुलाई अब घरमा ल्याएर परिवारसँगै राख्ने बताए । उनले पनि अब परिवारसँगै रहने इच्छा जनाएको भाइ रमेशको भनाइ छ ।
हराएको र करिब भेटिने आश मरेको छोरा भेटिएको खबरले वालिङ ५ पित्लेकमा रहेका परिवारसँगै आफन्त, इष्टमित्र, छरछिमेकीमा खुशी छाएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया