सोमबार, वैशाख ८, २०८२

मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित

मेरोन्यूज २०७८ साउन २७ गते १०:०२

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।

बार्सिलोनामा १० नम्बर जर्सी लगाएका मेस्सीले पीएसजीमा अब ३० नम्बरको जर्सी लगाउने छन् ।

६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् । बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।

यसैबीच मेस्सीले पेरिसमा करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक रहेको बताएका छन् । पीएसजीमा अनुबन्धित भएपछि बोल्दै मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको जनाउदै नयाँ अध्याय सुरु गर्न अधैर्य रहेको बताएका हुन् ।

प्रतिक्रिया