महाधिवेशन सार्ने विकल्प खोज्दै कांग्रेस : यस्ता छन् ५ विकल्प
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका पटक–पटक प्रभावित बनिरहँदा नयाँ कार्यतालिका बनाउन कांग्रेसको आज केन्द्रीय समितिको बैठक बस्दैछ । भदौं १६ देखि १९ सम्म तोकिएको महाधिवेशन सार्ने विषयमा सहमति खोज्न वुधबार सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टीका बरिष्ठ नेताहरुसाग अनौपचारिक सम्वाद गरेका थिए ।
महाधिवेशन सर्ने करिव निश्चित भएपनि के विकल्पका आधारमा सार्ने भन्ने खोजीमा भने काग्रेस छ । त्यही विकल्पको खोजी काग्रेसको केन्द्रीय कमिटि बैठकमा आज नेताहरुले छलफल गर्न खोजेका छन् ।
साउन १२ गतेका लागि तोकिएको कांग्रेसको वडा अधिवेशन प्रभावित भइसकेको छ । कांग्रेसले नियमित महाधिवेशन २०७६ साल फागुन ७ देखि १० गतेभित्र गर्ने भनेर पहिलोपटक तोकेको थियो । त्यसयता महाधिवेशनको कार्यतालिका ५ पटक परिमार्जन गरिएको छ । तर, भदौ २३ गते अघि महाधिवेशन नगरे कांग्रेस संवैधानिक संकटमा पर्ने देखिन्छ । पछिल्लो पटक कांग्रेसले संविधानको साहरा लिएर पार्टीको म्याद ६ महिनाका लागि थपेको थियो ।
अहिलेसम्म नयाँ कार्यतालिका जारी भएको छैन । क्रियाशील सदस्यको विवादको समस्या अझै टुङ्गिएको छैन् । यस्तो अवस्थामा भदौ २३ अघि महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता समाप्त हुने खतरा पनि छ । तर, महाधिवेशन सार्न नेताहरुले कानूनी छिद्र खोजेर विभिन्न विकल्प समेत खोजिरहेका देखिन्छन् । निर्वाचन आयोगमा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन सार्न के के विकल्प हुन सक्छन् ? भन्ने विषयमा परार्मश लिएको देउवा निकट स्रोत बताउँछ ।
एकजना केन्द्रीय सदस्यले भने, ‘चार वर्षमा सम्पन्न गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्षमा पनि गर्न नसक्नु नेतृत्वको असफलता हो । केन्द्रीय कार्यसमितिको कमजोरी हो । नेतृत्वकै नालायकी हो । लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको अटेरी हो ।’
कांग्रेस नेतृत्व भदौ तेस्रो साता वडा अधिवेशन गरेर महाधिवेशन प्रक्रिया आरम्भ गर्ने र पार्टीलाई अवैध हुनबाट जोगाउने र यो प्रक्रियालाई मंसिरमा सम्पन्न गर्ने दाउमा रहेको छ ।
सम्भव छ त निर्धारित मितिमै महाधिवेशन ?
कांग्रेसको निर्वाचन समितिका सदस्य कृष्णचन्द्र घिमिरेले अहिले पनि निर्वाचन समितिलाई काम गर्न दिने हो भने महाधिवेशन गर्न सम्भव रहेको बताउँछन् । उनका अनुसार पार्टी सभापतिले क्रियाशिल सदस्यता निर्वाचन समितिलाई हस्तान्तर गरेको २० औँ दिनमा वडा तहको अधिवेशन गर्न सकिन्छ । भने ४६ औँ दिनमा केन्द्रिय समितिको महाधिवेशन गर्न सकिन्छ ।
उनले भने, ‘त्यो विचको समयमा कुन तहको कहिले गर्ने भनेर निर्वाचन समितिले गर्ने हो त्यो हामी मिलाउँछौँ। ’ अबको दुई देखि तीन दिनमा क्रियाशील विवाद समाधान गरेर निर्वाचन समितिलाई हस्तान्तरण गरेमा पनि पार्टीको अधिवेशन गर्न सकिने उनले बताए । क्रियाशील सदस्यता प्राप्त गर्ने पर्खाइमा निर्वाचन आयोग रहेको उनले बताए ।
‘अव अहिले तोकिएकै मितिमा केन्द्रिय महाधिवेशन सम्भव छैन तर वडास्तरको महाधिवेशन गर्न सम्भव छ,’ उनले भने । उनका अनुसार अहिले पनि निर्वाचन समितिले कसलाई कहाँ खटाउँने लगायतका काम गरिरहेको छ । क्रियाशील सदस्यको ७७ जिल्लाकै फाइल लिष्ट आउँनुपर्ने उनको भनाई छ । उनका अनुसार १३ औँ महाधिवेशनमा काउन्टिङ धेरै दिन लागेको देखिएको थियो । त्यस कारण महाधिवेशन सुरुवात हुनुपर्यो । अहिले कोभिडको अवस्था पनि छ ,यो अवस्थालाई विचार गरेर अगाडी बढ्नुपर्छ । तर अधिवेशनको सुरुवात हुनुपर्छ ।
महाधिवेशनको प्रक्रिया वडास्तरबाट नै सुरुवात हुनुपर्यो, सुरुवात भएपछि त विस्तारै असोजसम्ममा केन्द्रिय समितिको निर्वाचन हुन सक्ने देखिएको उनले बताए । पहिलाको समय घटाएर ४६ दिनमा केन्द्रिय महाधिवेशन गर्न सक्ने गरि निर्वाचन समितिले काम गरिरहेको छ ।
कांग्रेस नेता गगन थापा तोकिएकै समयमा महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नुपर्ने बताउँछन् । कांग्रेस नेता अर्जुन नसिंह केसीले तोकिएकै मितिमा विशेष महाधिवेशन गर्नुपर्ने बताए ।
कांग्रेस नेता राधेश्याम अधिकारीले अहिले पनि काम गरेमा निर्वाचन गर्न सकिने बताए । उनले भने, ‘अहिले पनि खुरुखुरु पार्टीको विधान बमोजिम निर्वाचन गदै गएमा कुनै पनि विकल्पको पछि लाग्नै पदैन् ।’ तोकिएकै मितिमा अधिवेशन गनुपर्छ , तीन चार दिन अगाडी पछाडि भएर फरक नपर्ने उनले बताए ।
यस्ता छन् विकल्प
विकल्प १ :
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ५४ को उपदफा १ को (ख) मा पाँच वर्षमा केन्द्रीय र प्रदेश समितिको निर्वाचन नगरेमा ५० हजार सजाय हुने व्यवस्था छ । दफा १६ को उपदफा (१) बमोजिम केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन नगरेमा’ सजाय हुने दफा ५४ को उपदफा १ को (ख)मा व्यवस्था गरिएको छ ।
सोही उपदफा २ अनुसार ५० हजार जरिवाना तिरेपछि जरिवाना भएको काम (प्रदेश र केन्द्रीय समितिको निर्वाचन) गर्न कांग्रेसले ६ महिनाको समय पाउन सक्ने देउवा निकट नेताहरुको दाबी छ । सो उपदफाकै २ मा ‘कुनै दलले उपदफा (१) को खण्ड (ख), (ग), (घ), (ङ), (च) वा (छ) विपरीतको काम गरेमा आयोगले त्यस्तो दललाई त्यस्तो काम, कारबाही छ महिनाभित्र सच्याउन आदेश दिन सक्नेछ,’ भनिएको छ ।
तर यो ऐन पनि संविधानसँग बाझिएकाले अदालतबाट खारेज हुने जोखिम समेत रहेको कांग्रेस निकट विश्लेषकहरु बताउँछन् ।
विकल्प २ः
लकडाउनको समयलाई शून्य समय मानेर महाधिवेशन सार्न सकिने विकल्पमा पनि कांग्रेसमा नेताहरुका वीचमा छलफल भएको छ । सर्वोच्च अदालतले २०७७ साल जेठ १५ गते ‘लकडाउन’को अवधिलाई शून्य अवधि मानेको थियो । तर कांग्रेस नेता अर्जुननसिंह केसीका अनुसार शुन्य समय व्यावसायिक प्रयोजनमा दिएको हो, विधान र संविधानले शुन्य समय राजनीतिक दलहरुलाई नदिएको उनको तर्क छ ।
विकल्प ३ :
भदौ २३ अघि महाधिवेशनको प्रक्रिया थाल्ने र निरन्तर महाधिवेशनको प्रक्रिया सुरु गरेमा पार्टीको बैधानिकतामा प्रश्न नउठ्नेमा केन्द्रिय सदस्यहरु सहमत नै रहेको देखिन्छ । क्रियाशील सदस्यता विवाद भएका ७ जिल्लाबाट पुरानै र बाँकीबाट नयाँ प्रतिनिधि छानेर महाधिवेशन गर्न सकिने विकल्प समेत रहेको छ ।
विकल्प ४ :
महामारीको समयमा महाधिवेशन गर्न असम्भव रहेकाले महाधिवेशन रोकिपाउँ भनेर कांग्रेसको कोही क्रियाशील सदस्यले निर्वाचन आयोगमा निवेदन हाल्ने तयारी समेत रहेको केन्द्रिय समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार अहिले कानुन व्यवसायसँग परार्मश लिइरहेका ति सदस्यले मेरोन्युजलाई बताए ।
विकल्प ५ :
सरकारका यतिवेला काग्रेस सभापति शेरवहादुर देउवा नै छन् । उनले विशेष परिस्थिती देखाउादै सरकारको तर्फवाट अध्यादेश ल्याएर पनि काग्रेसको सम्वैधानिक संकट फुकाउन सक्छन् । तर अध्यादेशबाट सयम लिएर महाधिवेशन गर्दा कांग्रेसभित्र र वाहिर दुवैतिरबाट नै देउवाको आलोचना हुने देखिँदा यो किवल्प त्यक्ति रुचीकर विकल्प नरहेको कांग्रेस नेताहरु बताउँछन् । आलोचना खेपेर आउँनुपर्ने हुदाँ यो विकल्पको पछि सकेसम्म पार्टी नलागेकै राम्रो हुने देउवा निकट नेताहरुको भनाई छ ।
यसैगरी, यता पौडेल पक्षले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन भएपनि गर्नुपर्ने बताउँदै आएको छ । तर विशेष महाधिवेशन गर्नु भने त्यति सजिलो नभएको कांग्रेस जानकारहरु बताउँछन् । अहिलेकै नेतृत्वलाई अनुमोदन गर्ने र केही समयपछि विशेष महाधिवेशन गर्ने विकल्प पनि हुनसक्छ । तर सहमति जुटाउन भने सजिलो छैन।
यो पनि : संविधान अनुरुप भदौ २३ भन्दा पर लैजान मिल्दैन कांग्रेस महाधिवेशन
सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
प्रतिक्रिया