मंगलबार, फागुन ५, २०८२

कांग्रेस महाधिवेशन

आज ४५ जिल्लामा वडा अधिवेशन, बाँकी शनिबार र आइतबार हुने

यसरी हुन्छ वडा कार्य समिति गठन

सञ्जिता खनाल २०७८ भदौ १८ गते १३:३९

काठमाडौँ । नेपाली कांग्रेस शुक्रबार (आज)देखि १४ औँ महाधिवेशनमा होमिएको छ । क्रियाशिल सदस्यता नामावली पार्टीको वेव साइटमार्फत सार्वजनिक गरेका ५६ जिल्लाहरूमा आजदेखि महाधिवेशन सुरु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

गत साउन ३० गते प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्य समिति बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आजदेखि आगामी २७ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्नु पर्ने छ ।

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यसअघि ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाहरूमा अधिवेशन एकसाथ सुरु गर्ने सम्झदारी गरेका थिए । शुक्रबारसम्म पार्टीले ५६ जिल्लाको मात्र नामावली सार्वजनिक गरेको छ भने अझै २१ जिल्लामा क्रियाशील विवाद समाधान नहुँदा नामावली सार्वजनिक रोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नामावली सार्वजनिक भएका ५६ जिल्लाहरूका केन्द्रबाट अधिवेशनका लागि निर्वाचन अधिकृतहरू खटाएको छ । त्यसमध्ये आज ४५ जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न हुने अनुमान समितिको छ । आज ४० भन्दामाथि ४५ भन्दा कम जिल्लामा वडा अधिवेशन हुने निर्वाचन समितिका सदस्य गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार ५६ जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ । १० जिल्लाले शनिबार र आइतबार मात्र अधिवेशन गर्ने जानकारी दिएका उनले बताए ।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले निर्वाचन अधिकृत खटाइएका जिल्लाहरूमा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको जानकारी दिए । उनले भने, “क्रियाशील नामावली सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचनमा चाहिने आवश्यक सामाग्रीहरू पठाइसेको छ ।”

कांग्रेसका यी क्रियाशील सदस्यहरू पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यको संख्या करिब ९ लाखको नजिक रहेका छन् ।

यसरी हुन्छ वडा कार्य समितिको गठन

गाउँपालिका वडा अधिवेशनले वडाका क्रियाशील सदस्यहरूले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी ७ पदाधिकारी निर्वाचित गर्ने हुने विधानमा उल्लेख छ । कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र गाउँपालिका-नगरपालिका वडा कार्य समितिको सभापतिको उम्मेदवार बन्न पाउने छन् । सभापतिले वडा कार्य समितिका निर्वाचित सदस्यहरूमध्येबाट एक कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा छ ।

यसैगरी, ३ महिलासहित ९ जना प्रत्यक्ष निर्वाचित सदस्य, महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नु पर्ने विधानमा नै व्यवस्था रहेको छ ।

गाउँपालिका वडा कार्य समितिको सभापतिलाई कार्य समितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्य समितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने विधानले व्यवस्था गरेको छ ।

६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६८१ सदस्यहरू निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ । देशभरका वडाबाट मात्र एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने निवार्चन समितिले जनाएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया