एनआरएनए महाधिवेशन नामावलीमा सीमित पदाधिकारीको मनपरी
तत्काल सच्याउन माग, निर्वाचन समितिको क्षेत्राधिकार पनि मिचियो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न दशौँ महाधिवेशनका लागि केन्द्रीय सचिवालयले प्रकाशन गरेको प्रतिनिधि (डेलिगेट्स)हरूको नामावलीमा संघका केही पदाधिकारीले मन परी गरेको पाइएको छ ।
संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरूबाट चयन गरी आइसीसी सचिवालयमा पठाइएको नामावलीमा व्यापक फेरबदल गरिएको प्रमाणहरू फेला परेको छ । केन्द्रीय सचिवालयले मंगलबार राति आफ्नो वेव साइटमार्फत सार्वजनिक गरिएको विवरणमा विश्वव्यापी रुपमा संस्थापन पक्षले व्यापक हेरफेर गरेको फेला परेको हो।
संघको विधानअनुसार चयन गरी पठाइएको नामसमेत आइसीसीको सचिवालयले परिवर्तन गरी अर्कै व्यक्तिको नाम राखिएको छ । विशेषगरी संस्थापन पक्षसँग असहमत नामावली छानी छानी हटाइएको छ, भने सहमत व्यक्तिहरूको नाम समावेश गरिएको छ ।
एनआरएनए फ्रान्सका संस्थापकको नाम नै निवर्तमान समितिले डेलिगेट्सको सूचीमा समावेश गरेन । नवनिर्वाचित अध्यक्ष गीता शर्मा खनालको नाम पनि उक्त सूचीमा छुटाइएको छ । भवानी तिवारी एनआरएन अष्ट्रियाको २०१९–२१ कार्य समितिकी महासचिव हुन् । तर, सो कार्य समितिले पूर्वाग्रहवश आफ्नो नाम छुटाएको तिवारीले बताइन् । गत महिना सम्पन्न चुनावमा उनी एनआरएन अष्ट्रियाको अध्यक्ष पदमा निर्वाचित भएकी छन् । तर, उनको नाम प्रतिनिधि सूचीमा छैन ।
प्रेम गाहा मगर एनआरएन युकेको २०१९–२१ कार्य समितिका उपाध्यक्ष हुन् । तर, उनी उपाध्यक्ष रहेकै कार्य समितिले कुनै बैठक नगरेर, उनलाई जानकारी नदिएर ६५ प्रतिशत प्रतिनिधिको सूची केन्द्रीय सचिवालयमा पठाउने काम गर्यो । गत महिना भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वीको भन्दा दोब्बर मत ल्याएर गाहा मगर अध्यक्ष पदमा निर्वाचित भए । उनको कार्य समितिले पठाएको २५ प्रतिशत प्रतिनिधि सूचीलाई मान्यता दिन केन्द्रले आनाकानी गरिरहेको छ।
केन्द्रीय सचिवालयले प्रकाशित गरेको प्रारम्भिक नामावलीमा एनआरएन युकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठको कागजात नपुगेको दाबी गरिएको छ । उनले गत निर्वाचनको बेला मनोमानी गरेको भन्दै युकेका प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलको राजीनामा मागेका थिए ।
महासचिव हेमराज शर्माको मातहतमा रहेको केन्द्रीय सचिवालयले युके, अमेरिका, अस्ट्रेलिया जस्ता ठूला राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूलाई जानी जानी दु:ख दिने काम गरिरहेको ती एनसीसीहरूले गुनासो गरेका छन् । आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिएका उपाध्यक्ष बद्री केसी र महासचिव शर्माले संसारभरका एनसीसीहरूबाट पठाउने प्रतिनिधि सूचीमा एकलौटी गर्दा पनि अध्यक्ष कुमार पन्त मौन बसेका छन् ।
गत साता परराष्ट्र मन्त्रालयले एनसीसीहरूको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरूको अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरू नै निर्वाचन प्रक्रियामा सहभागी भएकाले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको, निर्वाचन आचारसंहिता पालना तथा लागू नगरिएको, महाधिवेशन प्रतिनिधिहरूको विवरण संघको वेव साइटमा प्रकाशित नगरिएको लगायतका विषयमा पाँच दिनको समय दिएर एनआरएनए आइसीसीसँग स्पष्टीकरण माग गरेको थियो ।
गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । आगामी अक्टोबरमा हुन गइरहेको संघको दशौँ विश्वसम्मेलनका लागि मन्त्रालयले पनि छुट्टै समिति गठन गरिसकेको छ । एनआरएनए केन्द्रीय सचिवालयको संलग्नता र निर्देशनमा एनआरएन जापानको चुनावमा धाधली गरिएको छानबिनबाट देखिएकाले केन्द्रले नै त्यसको जिम्मा लिनु पर्ने एनआरएन अभियन्ताहरुले माग गरेका छन्।
एमआइएस प्रणालीको व्यापक दुरुपयोग, छैन विश्वसनीयता
एनआरएन जापानको छानबिन समितिले केन्द्रीय सचिवालयमा एमआइएस प्रणाली हेर्ने दुई जना कर्मचारीको नाम किटेर उनीहरू धाँधलीमा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । तर, महासचिव शर्माले उनीहरूलाई निलम्बन वा स्पष्टीकरण सोध्नुको सट्टा उल्टै महाधिवेशनका डेलिगेट्सहरूको विवरण छानबिनमा संलग्न गराएका छन् । “यसबाट शर्माको नेतृत्वमा जापानको जस्तै धाँधली केन्द्रको चुनावमा पनि गर्ने तयारी भइरहेको संकेत मिलेको छ,“ संघको केन्द्रस्य सचिवालय पुगेका एक आइसीसी सदस्यले भने ।
एनआरएन जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. बलराम श्रेष्ठले काठमाडौँस्थित केन्द्रीय सचिवालयको एमआइएस प्रणाली दुरुपयोग गरेर एनआरएन जापानको चुनावमा धाँधली गरिएको पाइएको बताए । “त्यसैले एनआरएनएका केन्द्रीय पदाधिकारीले संस्थागत रुपमा धाँधलीको जिम्मेवारी लिनु पर्छ। । यो कामका संलग्नलाई कारबाही गर्न नसकेमा पदाधकारीहरूले राजीनामा दिनु पर्छ,“ श्रेष्ठले भने । नेपालको साइबर कानुनअन्तर्गत प्रहरीमा जाहेरी दिँदा केन्द्रीय पदाधिकारीले नै रोक्न खोजेको उनले दाबी गरे ।
तर, अहिलेसम्म एनआरएनए केन्द्रले दोषीलाई कारबाही गर्ने वा नयाँ चुनाव गराउनेबारे मुख खोलेको छैन । त्यस्तै चिली, बेल्जियमलगायत मुलुकमा एमआइएस प्रणाली दुरुपयोग गरी मतदाताहरूको विवरण फेरबदल गरिएको भन्ने उजुरीबारे केन्द्रले कुनै जवाफ दिएको छैन ।
विधानको अपव्याख्या
संघको विधान २००३ (२०२१ संशोधनसहित)को अनुसूची ६ क मा अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको छ । जसअनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय परिषदका हाल र विगतमा काम गरिसकेका व्यक्तिहरूबाट ६५५ प्रतिनिधिहरू चयन गर्न प्राथमिकताहरू तोकिएको छ ।
संघको विधान २००३ (२०२१ संशोधनसहित)को अनुसूची ६ (क)मा अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको छ । जसअनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय परिषदका हाल र विगतमा काम गरिसकेका व्यक्तिहरूबाट ६५५ प्रतिनिधिहरु चयन गर्न प्राथमिकताहरु पनि तोकिएको छ । जसअनुसार वर्तमान कार्य समितिले ६५ प्रतिशत प्रतिनिधि छनोट गर्नु पर्ने उल्लेख छ (हेर्नुहोस विधानको कपी) ।
तर, गत जुन महिनामा महासचिव शर्माले एनसीसीहरूको चुनाव नहुँदै पुरानै एनसीसीहरूलाई एक पत्र लेखेर अगष्ट १५ भित्र ६५ प्रतिशत प्रतिनिधि चयन गरी पठाउन पत्र लेखे । जसअनुसार अधिकांश एनसीसीहरूले विधान विपरीत एकलौटी रुपमा प्रतिनिधिहरूको नामावली पठाएको खुलासा भएको छ ।
“सन् २०२१ मा हुन गइरहेको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि सन् २०२१ मा निर्वाचित एनसीसी पदाधिकारीहरू डेलिगेट हुन नपाउने भन्ने महासचिवको स्वघोषित व्याख्या दुरासयपूर्ण छ । हामीले के बिर्सन हुन्न भने महाधिवेशन भनेको कुनै पनि संस्थाको तल्लो निकायहरुको अधिवेशनहरुको अधिवेशन हो । त्यसैले अधिवेशनहरुकै अधिवेशन (महाधिवेशन) भइरहँदा पूर्व समितिहरु स्वतः प्रतिनिधि हुने वर्तमान समितिहरू नहुने भनी अपव्याख्या गर्नु हास्यास्पद छ,“ एनआरएनएका सल्लाहकार सोम सापकोटाले भने।
यसैबीच केन्द्रीय अध्यक्ष पन्तले नाम छुटेका सबैलाई सेप्टेम्बर १२ भित्र सप्रमाण आफ्नो दाबी विरोध केन्द्रमा पठाउन आग्रह गरेका छन् । “हामीले ती सबै दाबी विरोधको अध्ययन गरी विधानअनुसार निर्णय गर्ने छौँ,“ उनले भने । आइसीसीले यसअघि नै नेपाल बार एसोसिएसनका पूर्व महासचिव लिलामणि पौडेलको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ । डेलिगेट्सहरुको नामावली आइसीसीले निर्वाचन समितिलाई बुझाएपछि दाबी विरोध लिने र त्यसउपर छानबिन गर्ने दायित्व निर्वाचन समितिको हो । तर, आइसीसी सचिवालयले निर्वाचन समितिको क्षेत्राधिकारसमेत मिचेर आफै छिनोफानो गर्ने तयारी गरेको छ ।
‘परराष्ट्र मन्त्रालय गम्भीर’
भदौ १७ मा दिनको समय दिएर आइसीसीसँग स्पष्टीकरण सोधेको परराष्ट्र मन्त्रालय संघमा बढ्दो विवादलाई लिएर गम्भीर बनेको छ । परराष्ट्र मन्त्रालय संघको नियामक निकाय पनि हो । विशेष महाधिवेशनबाट पारित गरिएका विधानका नयाँ प्रावधानको व्याख्या मन्त्रालयले आन्तरिक रुपमा गरिसकेको छ । विधान विपरीत महाधिवेशन प्रतिनिधि चयन नगरिए मान्य नहुने मन्त्रालयले यसअघि नै स्पष्ट पारिसकेको छ ।
संघका सबै गतिविधि मन्त्रालयले नियालिरहेको छ, परराष्ट्रका एक अधिकारीले भने, बढ्दो विवादप्रति मन्त्रालय गम्भीर छ । निर्वाचन समितिले पनि आइसीसीको सचिवालयका गतिविधि नियालिरहेको जनाएको छ । समितिका एक सदस्यले विधान र निर्वाचन समितिको क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरिए मान्य नहुने बताएका छन् ।
प्रतिक्रिया