सोमबार, मंसिर ८, २०८२

जग्गा अभावले स्तरोन्नति रोकियो

मेरोन्यूज २०७८ भदौ २७ गते ६:४२

दमौली । तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुन सकेको छैन । पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ । अस्पताल व्यवस्थापन समितिले आसपास रहेका जग्गा अस्पताललाई हस्तान्तरण गर्न पटक–पटक प्रदेश सरकारसँग आग्रह गरेपनि प्राप्त गर्न सकेको छैन ।

अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको जग्गा अस्पताललाई प्रदान गर्न जनप्रतिनिधि एवं सरोकारवालाले यस अगाडी कयौँ पटक प्रदेश सरकारसँग अनुरोध गरेका थिए ।

जग्गाकै कारण अस्पतालको स्तरोन्नति रोकिएपछि व्यास नगरपालिकाले ज्ञान केन्द्रको जग्गा र भवन दमौली अस्पताललाई उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको छ । कार्यपालिकाको बैठकबाटै उक्त निर्णय गराएर सरकारलाई आग्रह गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । “दमौली अस्पताल व्यवस्थापनका लागि सीमाना जोडिएको केन्द्रको जग्गा र भवन अस्पताललाई उपलब्ध गराएर कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न अनुरोध गरेका छौ,” उनले भने, “दमौली अस्पताल र कृषि ज्ञान केन्द्र प्रदेश मातहतको कार्यालय भएकाले सरकारले चाहे यो सम्भव छ ।”

यसअघि अस्पतालले कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको मध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन माग गरेको अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिदा पनि कुनै परिणाम प्राप्त नभएको उनको भनाइ छ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि सफल नभएको उनले बताए । “विभिन्न ठाउँका विभिन्न कित्ताका सार्वजनिक र विभिन्न सरकारी कार्यालयको अनुत्पादक जग्गा पहिचान सहित सम्बन्धित निकायमा लगियो तर परिणाम अहिलेसम्म प्राप्त भएको छैन,” उनले भने ।

विसं २०६२ सालमा आफ्नै स्रोत साधन प्रयोग गरी ५० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति पाएपनि अस्पताल समितिले सञ्चालन गर्न सहज नभएको अध्यक्ष अधिकारीले बताए । “यसका लागि चाहिने विशेषज्ञ तथ अन्य जनशक्तिको व्यवस्थापन, उनीहरुको सेवासुविधा, काम गर्ने भवन, त्यहाँ चाहिने उपकरणको जोहो समितिले गर्न सक्थेन,” उनले भने ।

वर्तमान अवस्थामा पनि अस्पतालले केही उल्लेख्य प्रगति गरेको छ । अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत, यनेस्थेसिया, गाइनोलोजी सेवा सञ्चालन, भेन्टिलेटर सहित आईसियू कक्ष, अत्याधुनिक प्रयोगशाला सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

अस्पतालबाट हाल ४२ शय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरवन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।

प्रतिक्रिया