बुधबार, माघ ३०, २०८१

एमाले अधिवेशनमा पेश भएका प्रस्तावमाथि छलफल हुँदै, छलफलका लागि १० समूह तयार

मेरोन्यूज २०७८ असोज १६ गते ७:५८

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान अधिवेशनमा आज विभिन्न राजनैतिक प्रतिवेदन तथा प्रस्तावमाथि छलफल हुने भएको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन भोलिसम्म जारी हुने छ ।

Advertisement

अधिवेशनको दोस्रो दिन आज (शनिबार) पार्टी अध्यक्ष, महासचिव र उपमहासचिव तथा संगठन विभाग प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने भएको हो । अधिवेशनको उद्घाटनसँगै शुक्रबार उनीहरूले पार्टी तथा संगठनलाई बलियो बनाउन प्रतिवेदन पेश गरेका थिए ।
पार्टीको महाधिवेशन नजिकिँदै गर्दा भइरहेको अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनको उद्घाटन गरी उनले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन पेश गर्दै गर्दा अध्यक्ष ओलीले आफूलाई रुघाखोकीले गाह्रो बनाएको भन्दै बीचमा नै छाडेका थिए । उनले पेश गरेको राजनीतिक प्रतिवेदनको बाँकी अंश नेता शंकर पोखरेललाई पूरा गर्न जिम्मेवारी दिएका थिए ।

यस्तै, पार्टी महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन पेश गरेका थिए भने उपमहासचिव विष्णु पौडेलको विधान प्रतिवेदन पेश गरेका थिए । उनीहरूले पेश गरेको प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको हो । छलफलका लागि १० समूह तयार बनाइएको छ ।

करिब ६ हजार प्रतिनिधिहरू सहभागी भएर ती प्रतिवेदनमाथि छलफल गरी पार्टीको नीति तयार पार्ने तयारी एमालेको छ । पार्टीको विधि विधान र कार्यक्रममाथि केन्द्रीत रहेर बहस हुने यो विधान अधिवेशनले एमालेलाई चुस्त, दुरुस्त र वैचारिक बनाउने विश्वास गरिएको छ ।

करिब ६ सय जना हुने एक समूहले ४ घण्टामा अधिवेशनमा पेश भएका तीन प्रतिवेदनमाथि छलफल गरी राय पेश गरिसक्नु पर्ने छ । यसका लागि आजको बिहान ८ बजेदेखि छफलफ सुरु हुनेछ । तीन दिनसम्म अधिवेशन भोलि आइतबारसम्म जारी हुनेछ ।

प्रतिक्रिया