देशभर देखिए डेंगु सार्ने लामखुट्टे, कस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौँ । नेपालमा तराईका जिल्लामा लामखुट्टेको टोकाईबाट हुने डेंगुका बिरामी पहाडी र हिमाली जिल्लामा समेत देखिन थालेका छन् । वातावरणीय प्रतिकुलताका कारण लामखुट्टेबाट हुने डेंगु संक्रमित पहाडी र हिमाली जिल्लामा देखिन थालेको जनस्वस्थ्य विज्ञहरू बताउँछन् । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको कोटाईबाट हुने चिकित्सकहरु बताउँछन् ।
पछिल्लो तीन महिनामा १४९ जनामा डेंगु संक्रमण देखिएको इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चालु आर्थिक वर्ष २०७८–०७९ मा सबैभन्दा बढी संखुवासभामा ४७ जना र म्याग्दीमा ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पर्वत बाग्लुङ, भोजपुरलगायतका पहाडी जिल्लामा डेंगुका बिरामी तथ्यांकले देखाएको छ ।
पछिल्लो समय जलवायुमा परिर्वतन आउँदा पहाडी र हिमाली जिल्लामा डेंगु सार्ने लामखुट्टे भेटिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले बताए । उनका अनुसार लामखुट्टेका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्ने माध्यम सवारी साधन र मानिसहरुको आवतजावतसमेत हो ।
‘पछिल्ला समय चुरे क्षेत्रमा समेत लामखुट्टेजन्य रोगको प्रकोप बढेको देखिन्छ,’ उनले भने, ‘पृथ्वीमा बढेको तापक्रम नै लामखुट्टेका लागि हिमाली जिल्लाहरुमा समेत बाँच्न उपयुक्त वातावरण बनेको छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिलेको समयमा वर्षा भइरहेको र लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त तापक्रम भएको बताए । २२ देखि ३४ डिग्रीसम्मको तापक्रम डेंगु रोग सार्ने लामखुट्टेका लागि अनुकूल मानिने उनले जानकारी दिए ।
‘एडिज नामक लामखुट्टेको टोकाईबाट यो सर्ने हुन्छ भने लामखट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ, यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्छ,’ डा. पुनले भने ।
यस रोगबाट बच्न घर वरिपरी पानीका खाल्डा खुल्डी पुर्ने, पानी जम्न नदिने, पानीको भाँडो छोपेर राख्ने, पूरा बाउला भएका कपडा लगाउने, झुलको प्रयोग गर्ने गरेमा बच्न सकिने पुनको सुझाव छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी डेंगु संक्रमित गण्डकी प्रदेशमा देखिएको थियो । जसमा १४५ जना संक्रमित भएका थिए ।
सुदूरपश्चिम १२५ जना, वागमतीमा ७०, लुम्बिनीमा ७३, कर्णालीमा ४८, प्रदेश १२८ र सबैभन्दा कम प्रदेश २ मा ४ जना गरी जम्मा ४८९ जनामा डेंगु देखिएको थियो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०१२ मा गरेको डेंगुको अध्ययनमा १८ सय मिटरमाथिसम्म लामखुट्टे पुग्ने अनुसन्धानले देखाएको थियो । नेपालमा एडिज एजिप्टाइले १८ सय मिटर तथा एडिज अल्बोपिक्टसले २१ सय मिटरको उचाइसम्म पुगेर प्रजनन् गर्न सक्ने देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि डेंगु रोगलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती रुपमा मानेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु संक्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो ।
लक्षणहरू
डा. पुनका अनुसार यस रोगको प्रमुख लक्षण भनेको उच्च ज्वरो आउने हुन्छ । सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ । केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने हुन्छ ।
बच्ने उपाय
लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने ।
पानी छोपेर राख्ने ।
खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने ।
शरीरको अधिकांश अंग ढाक्ने खाले लुगा लगाउने ।
दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने ।
लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू प्रयोग गर्ने ।
प्रतिक्रिया