सन्दर्भः प्रहरी दिवस
नेपालको पहिलो महिला प्रहरी चैतमायालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
पूर्वआईजी तथा एआईजीलाई अवार्ड दिने परम्परा तोडियो

काठमाडौं । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६६औं प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरीक्षक हुन् । ११ असार २००८ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् ।
महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विगतका प्रहरी दिवसमा उच्च तहमा रहेर काम गरेका पूर्वअधिकारीलाई मात्र दिइँदै आएको यस्तो सम्मानको परम्परा तोड्दै प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षेत्रीले डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिएका हुन् ।
यसअघि प्रायः पूर्वआईजी तथा एआईजीसहित उच्च अधिकारीले मात्र यो अवार्ड हात पार्दै आएका थिए ।
को हुन् चैतमाया ?
विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिएकी थिइन् ।
उनले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गरेकी थिइन् । उनी अहिले ८९ वर्ष पुगेकी छिन् । ८९ वर्ष लागेकी चैतमाया डंगोल चाबहिल गणेस्थान नजिकै बस्ने व्यापारिक पृष्ठभूमिका कान्छा डंगोल र तरिमाया डंगोलकी जेठी छोरी हुन् । आमाबुबाका सात सन्तान मध्ये सबैभन्दा जेठी उनको १०–१२ वर्षका उमेरमा विवाह भएको थियो ।
परिवारको चाहनाविपरित प्रहरी सेवामा प्रवेश गरेकी चैतमाया नेपालको प्रथम महिला प्रहरीका रुपमा परिचित छिन् । तत्कालिन प्रहरी प्रमुख नरशमशेर जबराको पालामा केही महिला नेतृहरुको सुझाव र साथीहरुको लहलहैमा लागेर चैतमायालाई झुक्याएर प्रहरीमा भर्ना लिइएको बताइन्छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको कार्यालयमा लैजाने भन्दै तत्कालीन कांग्रेसका काठमाडौंका नेताहरूले उनलाई प्रहरीमा जागिर लगाइदिएका हुन् । त्यतिबेला नेपाल प्रहरीमा महिलाका लागि २५ दरबन्दी तोकिएको थियो । तर, चैतमायासँगै १२ जनामात्र प्रहरीमा भर्ना भएका थिए ।
उनले लामो समय असईको जागिर नखाई वि.सं. २०३९ सालमा अवकाश लिइन् । केही समय सेवामा रहेको भए प्रहरी नायब निरीक्षक (सई) बन्ने पक्का थियो । तर उनले अचानक राजीनामा दिएकी थिइन् ।
उनले हाल निवृत्तिभरणस्वरुप १८ हजार रुपैयाँ बुझ्दै आएकी छन् । उनले जागिर खाँदा २५ महिलाको दरबन्दीलाई ३०–३० रुपैयाँ दिइन्थ्यो ।
प्रतिक्रिया