मंगलबार, मंसिर २५, २०८१

‘यसपालिको दशैँ भोकै बस्नु पर्छ जस्तो छ’

‘फूलपातीसम्म घर जाने भाडा उठे घरमै गएर दशैँ मनाउँछु, कमाई नभए यतै बसेर भोकै दशैँ मान्छु’

दया दुदराज २०७८ असोज २३ गते १३:१२

काठमाडौँको केन्द्रमा छ, बागबजार । दिन होस् या रात, सदाबहार भिडभाड उत्तिकै हुन्छ । बागबजारको मध्यभागमा रहेको पद्मकन्या क्याम्पस । नजिकै प्रर्दशनीमार्गमा रहेका विश्वभाषा, नेपाल ल, रत्नराज्य लक्ष्मीदेखि वाल्मिकीसम्मका कलेज । त्यही ओहोरदोहोर गर्ने विद्यार्थीहरुका जमात, काठमाडौंमा जता जान पनि सजिलो मध्यकेन्द्र । जसले गर्दा यो बजार कहिले शून्य देखिन्न ।

Advertisement

त्यही भिडभित्र छन्, –भगवान लाल ।

प्रर्दशनीमार्गस्थित आरआर क्याम्पस गेटदेखि ठ्याक्कै २० मिटर पूर्वपट्टीको एउटा कुनामा भगवान लालको सानो फुटपाथे जुत्ता पालिस गर्ने पसल छ । हरेक दिन उनी त्यहीँ कुनामा आएर बस्छन् । उनको अगाडिबाट हजारौँ मानिसहरुको ओहोर दोहोर हुन्छ । तर, उनलाई मतलब गर्ने मानिस कमै हुन्छन् ।

२० असोज, साँझ ४ बजे भगवान लाल त्यसैगरी फुटपाथको त्यही कुनामा जुत्ता पालिस गरिरहेका थिए । उनी कोही ग्राहक आउछन् कि भनेर बाटोमा हिँड्ने बटुवातिर नजर लगाइरहन्थे । उनी बाटोमा हिँड्ने बटुवाका जुत्तामा आँखा लगाउँथे । तैपनि, पालिस गर्न कसैले भनिहाल्छन् कि, कसैले जुत्ता सिलाउन भनिहाल्छन् कि ! उनको आश बटुवातिरको हिँडाईसँग हुन्छ ।

‘दशा बन्यो दशैँ’ सुस्केरा हाल्दै उनले भने । ‘दिनभरि बसेको बल्ल तपाई आउनु भयो, नत्र दिन पूरै सुख्खामै बित्थ्यो, उनले दिनभर फुटपाथमा आएर बस्दासम्म एक पैसा कमाई नभएकोमा दुखेसो पोखे, ‘कहाँ पैसा कमाउन सकिएला र, सुख्खराम मात्रै चल्न थाल्यो ।’

कति बजे आएर सडकमा बस्नुभयो ? भन्ने प्रश्नमा उनले भने, ‘बिहान ६ बजेदेखि आएर बसेको छु, अहिलेसम्म एक जना आउनुभयो त्यो पनि तपाई ।’ थोरै मजाक गर्दै मेराेन्युजकर्मीले प्रश्न गरेँ, ‘म मात्रै त होइन होला ?’

भगवान लालले पनि मुस्कुराउँदै जवाफ दिए, ‘१० दिन भयो बोनी हुन गाह्रो हुन्छ, आज त झन तपाई मात्रै हो ।’ उनको देखावटी मुस्कानभित्र लुकेको दुःख अनुहारमा प्रष्टै झल्किन्थ्यो । ‘पहिलो लकडाउनमा घर गएर आएको आज १० दिन भयो, दशैँ खर्च जुटाउने आशाले आएको तर यहाँ दशैँमा घर फर्किनका लागि गाडी भाडा पनि जुटाउन सकिँदैन जस्तो छ ।’

अनि घर कहिले जानु हुन्छ त ? प्रश्न खस्न नपाउँदै उनले लामो सुस्केरा ताने । अनि भने, –‘फुलपाती सम्म घर जाने भाडा उठ्यो भने घरमै गएर दशै मनाउँछु, यदी कमाउन सकिएन भने यतै बसेरै भोकै दशैँ मान्छु ।’ हुन त उनी केही पैसा कमाएर थोरै भएपनि दशैं हाँसीखुसी मनाउने योजना लिएर काठमाडौं १० दिन अगाडी मात्रै आएका हुन् । तर उनको मनको ब्यथा अहिले मनभित्रै छ ।

‘दशैँ आयो भन्छन्, हामी गरिबहरुका लागि दशैँ, दशैँ होइन् दशा हो ।’ उनले मनको वह पोख्ने गरी भने ।

उनको जवाफले मन निक्कै खल्लो बनायो । त्यक्तिन्जेलसम्म उनलाई पत्रकारसँग कुरा गरिरहेको छु भन्ने पत्तो थिएन । उनले उल्टै प्रश्न गरे, –‘तपाई कहिले घर जानुहुन्छ ?’ ‘म यतै हुन्छु होला बुबा ।’ मेरो जवाफ टुंगिन पाउँदानपाउँदै भगवानलालले प्रश्न गरेँ,–‘क्यामेरा बोकेर हिड्नु भएको छ, के गर्नुहुन्छ यता ?’ उनको यो प्रश्नमा मुस्कुराउँदै जवाफ दिएँ, ‘म विद्यार्थी हुँ बुबा, अध्ययन गर्दैछु ।’ मेरो छोटो जवाफले उनको मनलाई प्रफुल्ल बनाउन नसकेर होला उनि चुपचाप बसे ।

साँझ छिप्पिदै थियो । तर, उनीसँगको वार्तालाप चलिरहेकाे थियो । त्यसैबीच उनको पारिवारको अवस्थाको बारेमा बुझ्ने गरी प्रश्न गरे, ‘अनि बुबाको घरमा को–को हुनुहुन्छ ? छोरा छोरी कतिजना हुनुहुन्छ ?’

उनले मुस्कुराउँदै जवाफ दिए, ‘२ छोरा र १ छोरी छन्, एउटा छोरा दुबईमा छ, एउटा छोरा काठमाडौंमै सिलाई सिक्दै छ र छोरी गाउँमै अध्ययन गर्दै छिन् ।’

सानै घरदेखि पर

बुढो मान्छे अनि हँसिलो मुहार लिएर खुलेर बोलिरहेका भगवान लालको उमेर जान्ने मन लाग्यो । कति वर्षको हुनु भयो ?

उनको अनुहारमा चमक देखियो । उनी मसक्क हाँसे । ‘खै कति वर्ष पुगेँ त थाहाँ छैन, तर २०१९ सालको जन्म हो मेरो ।’ सालबाट गन्ने हो भने पनि उनी ५९ वर्षको पुगे छन् । उमेरले ५९ वर्षका भए पनि उनको काम गर्ने जाँगर र जोसलाई हेरेर भने भर्खरको युवा भन्न सकिन्छ ।

उमेर सोधेका कारण हो या के हो, उनले आफ्नो बाल्यकालका अनुभव साट्न थाले ।

‘मैले तपाईभन्दा सानो उमेरमा घर छोडेर हिडेको थिएँ,’ भगवान लालले ३ कक्षासम्म अध्ययन गरेका रहेछन् । तर उनलाई अहिले आफूले अध्ययन गरेको विद्यालयको नाम भने याद छैन । उनले आफ्नो बाल्यकाललाई सम्झदै भने, ‘३ कक्षासम्म पढेँ, तर अहिले आफूले पढेको विद्यालयको नाम थाहा छैन । ३ कक्षा पढेलगत्तै विवाह भयो । विवाहपछि घरमा आर्थिक भार बढ्यो अनि भारत लागेँ । भारत पुगेर लगभग २० वर्ष काम गरेँ । तर छोराछोरी पढाउनभन्दा अरु केही गर्न सकिएन । २० वर्ष भारतमा बसेपछि देशमै फर्किए ।’

भारतको विभिन्न फुटपातहरुमा भोकै रात विताएको अनुभव पनि उनीसँग छ । उनले सुनाए, ‘भारतमा धेरै रात भोकै विताएको छु, धेरै रात चिसो फुटपातमा सुतेँ, लगभग भारतमा ३ वर्षजति संघर्ष गरेपछि बल्लबल्ल सिलाई बुनाईको काम सिके र त्यही कामलाई निरन्तरता दिए । तर नेपालमा आएर त्यो काम धेरै गर्न भने सकिएन ।’

हेलामा परेका भगवान

आफ्नो मुलुक छाडेर अर्काको मुलुकमा सिप सिकेर आएका भगवान लालले देशमा फर्किएपछि भने सिलाईसम्बन्धि काम गर्न सकेनन् । किन त ? ‘बुढ्यौली लागेर हो कि या के हो, आँखा कम देख्ने भए, धेरै खट्न नसक्ने अवस्था आयो । अनि कपडा सिलाउने काम गर्न सकिनँ ।’

त्यसपछि उनले वैकल्पिक पेशा खोजी गरे । गाउँघरमा उनको धेरै जग्गा जमिन थिएन । त्यसपछि उनी गाउँ छाडेर काठमाडौँ पस्ने निधोमा पुगे । ‘घरमा खेती किसानी गर्न प्रर्याप्त जमिन थिएन, घर बनेको जग्गाबाहेक मेरो खेती लगाउन कुनै जमिन छैन,’ भगवान लालले भने, ‘अनि मन फेरि अमिलो पारेर राजधानीतिर भासिएँ, राजधानी आएर झन धेरै दुःख पाइयो ।’

काठमाडौंमा आएपछिको अनुभव पनि सुनाउनुस् न ? भन्ने प्रश्नमा सुस्केरा तान्दै उनले भने, ‘काठमाडौं साह्रै निष्ठुरी छ, यो ठाउँको मान्छेहरुसँग मनै छैन जस्तो लाग्छ । यहाँका मानिसहरुले श्रमलाई सम्मान गर्न सक्दैनन्, सुरुमा म चाबहिल चोकमा बसेर काम गर्थे, त्यहाँ मानिसहरुले आएर हामीलाई धेरै हेला गर्थे, हेप्थे ती दिनहरु सम्झिँदा अहिले पनि नमज्जा लाग्छ ।’

अहिले पनि यसरी नै हेप्छन् ?

‘पहिले जस्तो छैन,’ उनले भने, ‘पहिले त धेरै हेप्थे तर अहिले खासै त्यति नराम्रो भनेको जस्तो चाहिँ लाग्दैन ।’

समाज अलिक बदलिएको अनुभव उनीसँग छ । झण्डै एक घण्टा उनीसँग कुरा गर्दा कुनै ग्राहक आएका थिएनन् । साँझ पर्न थालिसकेको थियो ।

‘यही बाग बजारमा एउटा कोठा छ, मामाससुरासँग मिलेर बसेको छु, ४ हजार छ कोठाभाडा,’ उनले भने ।

यतै भए सँगै बसेर दशैँमा एक छाक खाउँला नि भन्दा हाँस्दै भने, ‘काठमाडौं बसेको १० वर्ष बढी भयो, तर मन खोलेर कुराकानी अहिले नै हो ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया