काँग्रेस नेता महेश कोर्मोचाको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुंगा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली काँग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।
विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका थिए । उनले नेपाली राजनीतिको लामो समय योगदान गरे । विसं २००७ मा भएको क्रान्तिमा लगौँटीमा काँग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको उनको राजनीतिक यात्रा पछि उनी ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत बने ।
हजुरबुबा भूमिगत काँग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको सुरुआत भएको बताउने महेश कोर्मोचालाई त्यो बेला लगौँटीमा काँग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी थियो ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि गाउँ आतङ्कित भएसँगै प्रशासनसँग बच्न गाउँका १५ जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान गएका थिए। उनीसहित १५ जनामध्ये १४ जना भर्ती भएका थिए । ब्रिटिस आर्मीमा कोर्मोचाले आठ वर्ष सेवा गरेका थिए । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपरेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय भए ।
विसं २०२५ मा नेपाली काँग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भूमिकामा रहेर कोर्मोचाले काम गरे। त्यसबेला सवारी चालक भएकोदेखि रक्सीको व्यापारसमेत गरेर सङ्गठन निर्माण गरेको इतिहास छ ।
विसं २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि थिए । क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो । बाँकी साथीलाई टिम्बुरबोटेको जङ्गलमा छाडेर कोर्मोचा राति नै सल्लेरीतर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगबस कोर्मोचा बच्न सफल भएका थिए । त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो ।
ओडारमा बसेका केही लडाकु भाग्न सफल भएका थिए । भाग्नेमध्येमा एक थिए । क्याप्टेन यज्ञबहादुर थापा । उनी नेपाली सेनाका पूर्वक्याप्टेन थिए । नेपाली काँग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए । टिम्बुरबोटे काण्डमा बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पुर्याइ हत्या गरिएको थियो ।
विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि महेश पनि पक्राउ परेका थिए । राज्यविरुद्धको मुद्दामा उनी पटकपटक गरी आठ वर्षको जेल जीवन बिताएका थिए ।
विसं २०४६ को बहुदलीय व्यवस्था पुन:स्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति भएका थिए ।
बाल्यकालदेखि आबद्ध रहेको काँग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा काँग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए । नयाँ शक्ति त्यागेर विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजकसमेत बनेका कोर्मोचा पुन:कांग्रेसमै फर्किएर सक्रिय राजनीति गरिरहेका थिए ।
उनको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी छन् ।










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया