शनिबार, चैत २, २०८१

उद्धार गर्न पुगेको हेलिकप्टर ‘ल्याण्ड’ गर्न नसक्दा फर्कियो

पुष्कर पाैडेल २०७८ कार्तिक २ गते १६:४१

कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेटीको बाढीमा फसेकाको उद्धार गर्न सुर्खेतबाट आएको हेलिकप्टर फर्किएको छ । धनगढीमा ल्याण्ड गर्न नसकिएपछि हेलिकप्टर फर्किएको हो ।

खराब मौसमका कारण बाढी ग्रस्त क्षेत्र मुसेट्टीमा हेलिकप्टर पुग्न नसकेको हो । सेनाको सुर्खेत कमाण्डका जर्नेल प्रेम शाहीले सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमले कञ्चनपुरको मुसेट्टी पुग्न नसकेको बताए ।

सेनाले डडेल्धुराको जोगबुढा रुट हुँदै पहाडै पहाडको खोचबाट मुसेट्टी पुर्याउन खोजेको थियो । ‘त्यो रुटबाट पनि भिजिबिलिटी भएन,’ जर्नेल शाहीले मेरोन्यूजसँग भने, ‘अर्को रुटबाट पनि सम्भव नभएपछि धनगढी ल्याण्ड गरिएको छ ।’

मौसम अनुकूल भएलगत्तै हेलिकप्टर उद्दारका लागि पठाइने उनले बताए । ज्यान जोगाउन चढेको रुख पनि ढल्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि बाढीमा फसेका छन् ।

बिहान ७ बजे उनीहरु फसेको खबर बाहिरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुष्कर नायक वर्ष ३६ ,शान्ति नायक वर्ष ३२, अजय नायक वर्ष १०, सुरज नायक वर्ष ४ र गौरी खड्का वर्ष ५० का रुखको कापमा बसेका छन् ।

ढुंगाको भरमा रुख अडिएको र जुनसुकै बेला दुर्घटना हुन सक्ने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया