शनिबार, फागुन ३, २०८१

वागमती प्रदेशसभाको बैठक सार्न एमालेको माग

मेरोन्यूज २०७८ कार्तिक ३ गते १५:०९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेश संसदीय दलले प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ ।

Advertisement
IMEnabil

एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर पत्र पठाएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

पार्टी संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसअघिका जिल्ला, प्रदेशस्तरका अधिवेशन, कात्तिक ६ गते वडास्तरीय र कात्तिक ९ गते स्थानीय तहको अधिवेशनका लागि केही दिनअघि नै पार्टीका आम कार्यकर्ता तथा जनप्रतिनिधिहरु लाग्नु पर्ने भएकाले ४ गतेको बैठकमा प्रदेशसभा सदस्यहरु सहभागी हुन नसक्ने भएकाले बैठकको मिति सार्न अनुरोध गरिएको जानकारी दिए ।

“सभामुखज्यूले यही कात्तिक ४ गते दिउँसोका लागि बोलाउनु भएको प्रदेशसभाको बैठकमा पार्टीको अधिवेशनमा सहभागी हुनुपर्ने भएकाले हाम्रो पार्टीका प्रदेशसभा सदस्यहरुको सहभागिता हुन नसक्ने भएकाले उक्त बैठकको समयलाई हेरफेर गरी आगामी कात्तिक ११ गतेका लागि सारिदिनुहुन विनम्र अनुरोध गर्दछु,” मुख्य सचेतक निरौलाले प्रदेशसभा सचिवालयलाई बुझाउनु भएको पत्रमा उल्लेख छ ।

प्रदेशसभाको सचिवालयलाई पत्र प्राप्त भएको र सभामुखसँग छलफल हुन बाँकी रहेकाले बैठक स्थगित हुने वा नहुने विषयमा तत्काल भन्न नसकिने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया