बिहीबार, जेठ १, २०८२

वर्षाले चितवनमा ३० प्रतिशत धानबाली नष्ट

मेरोन्यूज २०७८ कार्तिक ४ गते ११:१७

काठमाडौँ । धान भित्र्याउने समयमा परेको वर्षाका कारण चितवनमा ३० प्रतिशत धानबालीमा क्षति पुगेको छ । पानी र हावाहुरीले धानबालीमा क्षति पुगेको हो ।

जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइए पनि बाँकी धान भित्र्याउन बाँकी रहेको थियो । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धानसमेत नष्ट भएको छ ।

कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ । भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकोमा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए ।

पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसले दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ । उनका अनुसार पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उनले बताए ।

कार्यालयका प्रमुख युवराज पाण्डेले सबै पालिकामा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भएको बताए । निरन्तरको वर्षाका कारण धानमा ठूलो क्षति भएको हो । पानी निरन्तर परिरहेकाले थप क्षति हुन सक्ने अनुमान गरिएको छ । विगतका वर्षमा वर्षे धान थन्क्याउने समयमा मौसम राम्रो हुने भए पनि यस वर्ष पानी र हावाहुरीले प्रभावित भएको उनको भनाई छ ।

चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा एक लाख तीन हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया