भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीहरुको घोषणा

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ्’ नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित बनेका छन्। आन्दोलनरत आठवटा यातायात व्यवसायी महासंघ र मजदुर संगठनहरूको साझा प्लेटफर्म ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२’ ले सोमबार, जेठ १९ गतेदेखि मुलुकभर सार्वजनिक यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
संघर्ष समितिले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारको निर्णय संविधान र सवारी ऐनको विपरीत भएको दाबी गर्दै सो निर्णय तत्काल खारेज गर्न माग गरेको छ। समितिले निजी प्रयोजनका लागि खरिद गरिएका १० वर्षभन्दा पुराना दुईपांग्रे र १५ वर्षभन्दा पुराना चारपांग्रे सवारीसाधनलाई भाडाका सवारी सरह सञ्चालन गर्न दिने नियमावलीले सार्वजनिक यातायात प्रणाली नै ध्वस्त हुने चेतावनी दिएको छ।
आन्दोलनरत संगठनहरूले सातबुँदे मागपत्रसहित आन्दोलनको घोषणा गरेका छन्। यदि सरकारले माग सुनुवाइ नगरे आन्दोलनको स्वरूप थप कठोर बनाउने चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ, “हामी सार्वजनिक यातायात जोगाउने लडाइँमा छौं, यसमा सम्पूर्ण नागरिक समाज र सरोकारवाला निकायको साथको अपेक्षा राख्छौं।”

प्रतिक्रिया