वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु

फुङ्लिङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक सुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा सुरु भएको हो ।
वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको मौलिक सांस्कृतिक पर्व फुटुक विगतदेखि नै धुमधामसँग मनाउने गरिएको छ । यस वर्ष कोरोना सङ्क्रमणको अवस्था न्यून भएकाले फुटुक पर्व भव्यरुपमा मनाउन थालेको फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन भोटे (वालुङ) ले जानकारी दिए ।
उनका अनुसार परापूर्वकालदेखि नै ओलाङ्चुङगोलामा बसोबास गर्ने सो समुदायले प्रत्येक वर्ष फुटुक पर्व मनाउने गर्दछन् । वालुङको विशेष मौलिक पर्व भएकाले करिब १० दिनसम्म मनाइने पर्वमा सहभागी हुनका लागि पाहुना आइसकको वडाध्यक्ष भोटेले जानकारी दिए । उनका अनुसार फुटुक पर्वलाई विधिगत रुपमा सञ्चालन गर्नका लागि भारतको दार्जिलिङदेखि प्रमुख लामा आएका छन् ।
पर्वमा सुरुदेखि अन्तिमसम्ममा कम्तीमा १५ लामाले सहभागिता जनाउने र उनीहरुले बौद्ध धर्मसंस्कार अनुसार पर्व सञ्चालन गर्ने स्थानीय याङ्मा नुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार पर्वको अवधिभर हरेक दिन मध्यरातिदेखि लामाले पूजा पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरिन्छ । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्ने गरिन्छ भने आगोमा बालेको घ्यू र तेलको धुँवा ९राप० ले गुम्बाको धुरी नाघेमा शुभ हुने वालुङ जातिमा धार्मिक विश्वास रहिआएको छ ।
फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइँन्छ भने प्रत्येक रात देवनृत्य (देवता नाच) प्रदर्शनसहित पर्वको समापन गरिने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार पर्वमा सहभागी लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता तथा राक्षसबीचको युद्धको अभिनय गरी नृत्य देखाउन गरिएको छ । फुटुक पर्वमा लामाको नृत्य हेर्न साथै भगवान्को आशिर्वाद ग्रहण गर्नका लागि स्थानीयवासी साथै बाहिरबाट जाने पाहुनाले गुम्बा नजिक पाल तथा ट्रेन टाँगेर बस्ने गर्दछन् । ओलाङ्चुङगोलामा साढे ४०० वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ ।
गत वर्ष महामारीको समयमा पनि फुटुक पर्व मनाइएको थियो । गत वर्षको फुटुकमा उत्तरी नाका बन्द गरिएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाहुना आउन सकेका थिएनन् । यस वर्ष पर्वमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार पाहुनाको रुपमा सहभागी हुने स्थानीय बताउँछन् ।
ऐतिहासिक महत्व भएको तथा नेपालकै ओलाङ्चुङगोलामा मात्र यो पर्व मनाउने भएकाले वालुङ समुदायको मौलिक तथा सांस्कृतिक पर्व फुटुकको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले आर्थिक सहयोसमेत गर्दै आएको छ । सीमान्तकृत समुदायको मौलिक पर्वको जगेर्नाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखेर आर्थिक सहयोग गर्दै आएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले जानकारी दिए ।
समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइ रहेको हिमाली बस्ती ओलाङ्चुङगोलामा एक मात्र जाति वालुङ समुदायको बसोबास रहेको छ । ओलाङ्चुङगोलामा हाल वालुङ ५२ घरपरिवार बसोबास गर्दै आएका छन् भने ओलाङ्चुङगोलाकै साविक वडा नं ९ जिल्लाकै उच्च बस्ती याङ्मा (४,२०० मी) मा ११ परिवार बसोबास गर्दै आएका छन् ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया