मंगलबार, माघ २९, २०८१

दुई लाखको जागिर छाडेर रैथानेतिर लागेका तिलकको कथा

किसानको उत्पादन घरघरमा पुर्‍याउने रैथाने

नरेन्द्र रौले २०७८ कार्तिक १३ गते १६:०६

उमेरले ६० वर्षको उकालो लागेका नुवाकोटका स्थायी बासिन्दा तिलक ढकाल अझै जवान लाग्छन् । उनको सक्रियता, जोश, जाँगर देख्दा उमेर पनि बिर्साइदिन्छ । डब्लुडब्लुएफमा हुँदाखाँदाको दुई लाख रुपैयाँको जागिर छाडेर रैथाने संस्था सुरु गरेका उनलाई जीवनमा केही गर्ने हुट्हुटी बाँकी नै छ ।

जीवन भनेको रिटायर्ड हुँदैन । हालै चप्पल कारखानास्थित रैथानेको कार्यालयमा भेटिदा ढकालले भने– ‘मन, सोंच कहिल्यै पनि बुढो हँुदैन । सोच्यो भने त १६ वर्षमै मानिस बुढो हुन्छ नि ।’ उनी समयको गति अनुसार आफूलाई दौडाउन हरबखत संघर्षरत छन् । उनलाई लाग्छ, समय गतिशील छ । जीवनलाई समयको गतिशिलता अनुसार दौडाउनुपर्छ । जसले कोशिस गर्छ, उसले सफलता प्राप्त गर्छ ।
त्यसको उदाहरण त ढकाल स्वयं छन् र, उनले जन्माएको संस्था रैथाने ।

Advertisement

यसरी जन्मियो रैथाने

२० वर्ष डब्लुडब्लुएफमा काम गरिसकेपछि ढकाललाई लाग्यो, अब केही नयां काम गर्नुपर्छ । अन्तराष्ट्रिय संस्थामा पाउदै आएको सेवा, सुबिधा, तलबको माया मारेर उनले बेग्लै बाटो रोजे । मनले रोजेको बाटोमा हिंड्न पाउनुमा जति मजा अरु के कुरामा भेटिएला र ?– उनले भने ।

डब्लुडब्लुएफमा काम गर्दा ढकालले ३४ जिल्ला घुमे । वन, पर्यटन प्रवद्र्धन, समुदायको जीविकोपार्जन, वन्यजन्तुको संरक्षण जस्ता काम गर्ने यस संस्थामा फिल्ड अफिसरबाट प्रवेश गरेर सिनियर म्यानेजर भएर निस्के । चार पटक बढुवा भएका ढकालले छोड्नेबेला सेवा, सुविधासहित मासिक २ लाख रुपैयाँ तलब थियो । मनमा केही फरक काम गर्न चाहेकै थिए । त्यसैकारण उनले योजना पनि बनाईसकेका थिए । उनको जस्तै सोंच मिल्ने अन्य केही साथीहरु भेटिएपछि झन् उनमा उत्साह र जोश थपियो ।

ढकालको घरमा मकै खाँदै ५ जना साथीहरु गफिदै थिए । ढकालले नाम जुराए, रैथाने । जुन शब्दसँग यतिबेला उनको बेग्लै प्रेम छ । रैथाने शब्दले कुनै ठाउको पहिलेदेखिको वा पुरानो बासिन्दा, आदिवासीलाई संकेत गर्छ । ढकालको समूहले मौलिक नेपाली परम्परा, गाउको उत्पादन, लोप हुँदै गएका उपयोगी सरसामानलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको थियो । पाच जनाबाट सुरु भयो, रैथाने एग्रिप्रोडक्ट नेपाल । सुरुमा सेयर सदस्यले संस्थाको लोगो भएका ६ वटा कप छापे । तिनै कपहरु आफैले किने ।

चप्पल कारखानास्थित रैथानेको कार्यालयमा पुग्नुभयो भने तपाईंलाई पक्कै फरक अनुभूति हुनेछ । शहरमा अन्यत्र कतै नभेटिने गाउका सामानहरु तपाई यहाँ भेट्नु हुनेछ । डोको, नाँङ्लो, जाँतो, ढिकी, ओखल, हँसिया, मकैका पातहरुबाट बनाइएका चकटी, तेल पेल्ने कोल, ठेकी, घुम, मोही पार्ने ठेकी लगायत अन्य थुप्रै सरसामानहरु । नेपाली मौलिक परम्परा झल्काउने सामानहरु जगेर्ना, प्रवद्र्धन बाहेक रैथानेले गर्दै आएको महत्वपूर्ण काम भनेको किसानका उत्पादनलाई उपभोक्ताको घर–घरमा पुर्‍याइदिने हो ।

गत असार मसान्तसम्म रैथाने ७ प्रदेशभरी ३८ जिल्लाका ९ हजार ५ सय किसानसँग जोडिईसकेको छ । सिधै किसानबाट उनीहरुका उत्पादन किनेर राजधानीमा उपभोक्ताका घर–घरमा नि:शुल्क होम डेलिभरी गर्दै आएको छ । यसले डोल्पा र मुगुको ओखरदेखि, सोलुको अकबरे, आलु, सिन्धुलीको घिउ, ताप्लेजुङको ठेकी, चितवनको तेल, मकवानपुरको मह, जुम्ला र रोल्पाको गेडागुडी, झापाको कालो नुनिया चामल उपलब्ध गराउँदै आएको छ ।

‘नौ हजार ५ सय किसानबाट १ सय ७५ वटा आइटम हामीले उपलब्ध गराउँदै आएका छौं ।’ रैथानेका सदस्य मध्येका एक उपेन्द्र कँुइकेलले सुनाए, ‘ती सबै किसानहरुले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।’ गाउमा किसानको व्यापार बढिरहेको र रोजगारी सिर्जना भईरहेको उनले सुनाए । चितवन र मकवानपुरबाट चेपाङ, तामाङ समुदायले उत्पादन गरेका ८ टन मह यसपाली खरिद गर्ने उनले बताए । सिमान्तकृत समुदायको उत्पादनलाई खरिद गर्ने, साना किसानलाई प्रवद्र्धन गर्ने आफ्नो संस्थाको उद्देश्य रहेको उनले बताए ।

अहिले रैथानेमा जोडिनेको संख्या ४९ जना पुगिसकेको छ । यसमा ५० हजार देखि १५ लाख रुपैयाँ लगानी गर्नेहरु छन् । ‘कोही कोहीले यसमा १ करोड रुपैयाँ लगानी गर्छु भनेका छन्’, तिलक आफ्नो अनुभव सुनाउँछन्, ‘रैथाने एक अभियान हो । यसको नाफाबाट आएको एक प्रतिशत रकम विपन्न क्षेत्रका विद्यार्थीहरुलाई छात्रवृत्तिमा खर्चिनेछौं ।’

रैथानेमा फरक फरक डिपार्टमेन्ट छन् । मार्केटिङ, डिजिटल अपरेसन, डेलिभरीदेखि किसानबाट सामान संकलन गर्नेमा फरक फरक व्यक्तिहरु तोकिएका छन् । चामल, गेडागुडी, तिल केलाउने, निफन्ने र प्याकिङ गर्नेहरु पनि फरक फरक व्यक्ति छन् ।

रैथानेले व्यापार, व्यवसाय त गर्दै आएको छ । तर, अलि फरक किसिमले । २१ जनालाई रोजगारी प्रदान गरेको रैथानले प्रकृति र मानिसबीचको सम्बन्ध बुझाउन खोजेको छ । ‘माटोले हामीलाई उब्जनी दिएन भने, रुख, विरुवाले अक्सिजन दिएन भने के होला ?’ तिलकले विस्तारमा प्रष्ट्याउन खोजे, प्रकृति र मानवबीच सह–अस्तित्व जोडिएको छ ।’

रैथाने म्युजियमको सपना



रैथानेले आफ्नै म्युजियम बनाउने तयारी गर्दैछ । जहाँ नेपाली भेषभूषा, गरगहना, सांस्कृतिक पहिरन, टाइपराइटर, हलो, जुवा, हलौंडो, फाली, लालटिन, मदानी, टोकरी लगायत थुप्रै सामानहरु राखिनेछ । हाल गाउ गाउबाट संकलन गर्ने कार्य भईरहेको छ । नेपालको रितिस्थिति, संस्कृति, परम्परा झल्काउने कुरा यो म्युजियममा राखिएको ढकाल बताउँछन् । ‘यी कुराले हाम्रो धरातल देखाउँछ । हामीले यस्ता चिज, वस्तु जोगाउने र प्रवद्र्धन गर्नुपर्छ ।’ उनी भन्छन् ।

किसानको उत्पादन शहरमा

हाल ७२ जिल्लामा पाइला टेकिसकेका तिलक ढकाल बेलाबेला देश घुम्न निस्किन्छन् । किसानहरुसँग गफिने, नयाँ–नयाँ उत्पादनलाई उपत्यकाबासीको घर दैलोसम्म पुर्‍याउने प्रयासरत छन् ।

गाउको समुदायका मानिसहरुको जिविकोपार्जन सुधार्न उनी हरबखत तम्सिएका हुन्छन् । नेपालका ७७ जिल्लाकै व्यक्तिहरुलाई रैथानेमाा जोड्न उनी उद्यत छन् । ताकि हरेक जिल्लाको उत्पादनलाई रैथानेमार्फत घर–घरमा पुर्‍याउन सकियोस् ।

‘जिम्मेवारीलाई सेलिब्रेट गर्नुपर्छ ।’ हँसिलो चेहरामा भेटिएका रैथानेका ढकालले भने ‘जीवन जित्नलाई हो । खेल्दा हारिएला । तर, जित्न जाने हो ।’

प्रतिक्रिया