बुधबार, फागुन ७, २०८१

मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय, राईलाई मुख्यमन्त्री बनाइने

मेरोन्यूज २०७८ कार्तिक १४ गते १८:११

विराटनगर । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सोमबारको मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय भएको नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबादुर आङ्बोले जानकारी दिए ।

गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रदेश १ मा आचार्यको सरकार ढालेर गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी पाँच दलीय गठबन्धनको छ । मुख्यमन्त्रीमा कांग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको छ ।

कात्तिक ७ गते आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसभित्रको किचलोका कारण विश्वासको प्रस्तावमाथि छलफल र मत विभाजनका लागि प्रदेशसभाको बैठक सोमबारसम्मका लागि सरेको थियो ।

मुख्यमन्त्री आचार्य पदमुक्त भए प्रदेश प्रमुखले सोमबार नै प्रदेश सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशमा बहुमतका लगि ४७ मत आवश्यक छ । पाँच दलीय विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् ।

गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा भने दुवै पक्षमा खुलेको छैन ।

Advertisement
IMEnabil

प्रतिक्रिया