मंगलबार, फागुन ६, २०८१

एमालेलाई अर्को झड्काः प्रदेश १ मा पनि भोलि सरकार ढल्ने निश्चित

माधव नेपालका राईलाई मुख्यमन्त्री बनाइँदै

मेरोन्यूज २०७८ कार्तिक १४ गते २१:१२

बिराटनगर । लुम्बिनी, गण्डकी र बाग्मति प्रदेशपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचित मुख्यमन्त्री भीम आचार्यले सोमवार विश्वासको मत लिँदै छन् ।

केन्द्रीय सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसदहरुले पार्टी निर्णय नमान्ने अवस्था अन्त्य भएसँगै आचार्यले विश्वासको मत गुमाउने निश्चित बनेको छ ।

आइतबार मात्रै केन्द्रीय सत्ता गठबन्धनका पाँचै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । उनीहरुले आचार्यलाई विश्वासको मत नदिएर आफ्नो गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन् ।

९२ प्रदेशससभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ४१ सांसद छन् । आचार्य मुख्यमन्त्री कायमै रहन ४७ मत ल्याउनुपर्नेछ ।
विपक्षी गठबन्धनसँग ५० प्रदेश सभा सदस्य छन् । जसले गर्दा राई मुख्यमन्त्री बन्ने निश्चित छ । प्रदेश १ मा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जनता समाजवादी पार्टी (जसपा)का ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका एक सदस्य छन् ।

एक सिट रहेको राप्रपाले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने टुंगो लागेको छैन ।

यसअघि गत कात्तिक ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका थिए तर नेपाली कांग्रेस र एमालेकै आग्रहमा सो दिनको बैठक स्थगित गरिएको थियो ।

Advertisement
IMEnabil

प्रतिक्रिया