मिस टिन क्विन भन्छिन् : कहाँ जन्मिए थाहा छैन, मनमा उत्सुकता छ

हालै सम्पन्न मिस टिन क्विन (सिजन २) २०२१ कि विजेता बनिन्, अस्मिता अधिकारी । सामाखुसीस्थित लिंकन कलेजमा प्लस टु अध्ययनरत अधिकारीले २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भइन् ।
उनले पहिलो पुरस्कार स्वरुप एक लाख नगद रुपैयाँ हात पारेकी छन् । यस्तै आयोजकका अनुसार उनलाई पोखरा, दक्षिण कोरिया टुर, फोटो सुट, म्युजिक भिडिओमा खेल्ने अवसर प्रदान गरिने छ । काठमाडौँ कि अधिकारीलाई पवित्र समाज सेवा नेपालले संरक्षण दिएर हुर्काउने, पढाउने काम गरेको थियो । मिस टिन क्विनको विजेता बनेपछि अधिकारीले आफ्ना अनुभूति, संघर्ष र भावी जीवनका सपनाहरु मेरो न्युजका लागि नरेन्द्र रौलेसँग यसरी साँटिन् ।
तपाईंलाई मिस टिन क्विन २०२१ को विजेता बन्छु भन्ने लागेको थियो ?
मैले यस्तो प्रतियोगितामा पहिलो पटक भाग लिएकी हुँ । आयोजकले अडिसन लिनु भयो । सक्छु भन्ने म मा आत्मविश्वास पलायो । मनमा आशा त थियो । त्यो सँगै अलि डर पनि थियो । तालिममा अरु प्रतिस्पर्धीहरू पनि तगडा थिए । मैले नै जित्छु कि भन्नेमा चाहिँ ५० प्रतिशत लागेको थियो ।

स्कुल पढ्दा के कुरामा बढी रहर लाग्थ्यो ?
मलाई पहिलेदेखि मोडलिङ, डान्स, सामाजिक काममा रुचि लाग्थ्यो । खानाका परिकारहरू बनाउन मन पथ्र्यो । म बच्चाहरुसँग खेल्न, अरुलाई खुसी बनाउन रुचाउँछु । नेपालमा कर्णाली क्षेत्र गएर त्यहाँको जन जीवन बुझ्ने, स्थानीय बासिन्दाको रहनसहन बुझ्ने चाहना छ । मलाई पुस्तक पढ्न रुचि लाग्छ ।
कस्ता खालका पुस्तक पढ्न रुचाउनु हुन्छ ?
कोर्ष बाहिरका किताबहरुमा मेरो रुचि छ । प्रेरणादायी र सकारात्मक सन्देश दिने पुस्तक मलाई एकदमै मन पर्छ । यु क्यान विन, खबुज, मलाला जस्ता पुस्तकहरुले मेरो मन छोए । हरिवंंश आचार्यको चिना हराएको मान्छे, कर्ण शाक्यका पुस्तक, अमर न्यौपानेको सेतो धरती र करोडौं कस्तुरी पुस्तक पनि मेरो मन छोए ।
पवित्र समाज सेवा नेपालले तपाईलाई १६ वर्ष संरक्षण दियो । हुर्कायो, बढायो । तपाई यो संस्थासम्म कसरी आइपुग्नु भयो ?
‘तँलाई पुलिसले यहाँ ल्याएको हो’ भन्नु हुन्थ्यो यो संस्थाकी सञ्चालक दिक्षा मामुले । उहाँले नै मलाई हुर्काउने, बढाउने, पढाउने जिम्मेवारी पूरा गर्नु भयो । मैले सुनेअनुसार, मलाई जन्माउनु मामु बित्नु भयो । कहाँ जन्मिए भन्ने मलाई नै थाहा छैन । मेरो मनमा उत्सुकता भने हुन्थ्यो । यसबारेमा बुझ्ने भएपछि म दिक्षा मामुलाई सोध्ने गर्थें ।

अहिले कसरी समय बिताइरहनु भएको छ ?
मेरो कलेज सुरु भइसकेको छ । नियमित कलेज जाने, आउने गर्छु । त्यसबाहेक युट्युबमा मोटिभेश्नल भिडिओहरु, महाभारत, विष्णु पुराण हेर्छु । अंग्रेजी सुधार्नका लागि युट्युव मेरा लागि सहयोगी बनेको छ । यसबाहेक सामाजिक सञ्जालमा पनि समय बिताउँछु । फेसबुकमा न्युज फिड् हेर्ने, मनमा लागेका कुरा लेख्ने, फोटो अपलोड गर्ने गर्छु ।
भावी जीवनको सपना के छ ?
मलाई मोडलिङ क्षेत्रबाटै केही गर्छु भन्ने इच्छा छ । प्लस टु मा साइन्स विषय लिएर अध्ययन गरिरहेकी छु । त्यो सकेपछि पेशागत रुपमा पाइलटको कोर्ष गर्न मन छ । आकाशमा प्लेन उडाउनुको मजा कस्तो होला ? म मनमनै कल्पना गर्छु । पाइलट एउटा सम्मानित र ठूलो पेशा हो भन्ने लाग्छ । यसबारे युट्युबमा भिडिओहरु पनि हेर्छु ।
















Third International Buddhist Conference to be held in Lumbini
क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
आर्थिक समृद्धिमा टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
दक्षिण सुडानको अस्पतालमा आक्रमण
सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया