सोमबार, चैत ३०, २०८२

माओवादी पहिलो पटक पार्टीको निर्वाचनमा होमियो

भोलिदेखि निर्वाचन शुरु, देशभरबाट तीन लाख प्रतिनिधि चयन हुने

मेरोन्यूज २०७८ मंसिर ३ गते १७:५६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कम्युनिस्ट राजनीति इतिहासमै पहिलो पटक आन्तरिक निर्वाचन प्रक्रियामा होमिने भएको छ ।

आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादी केन्द्रले भोलि (शनिबार) देशैभरका वडाहरुमा एकैपटक निर्वाचन गरेर प्रतिनिधि चुन्दैछ ।

निर्वाचनका लागि मंसिर १ गतेदेखि नै देशैभर निर्वाचन समितिका कार्यालयहरु सञ्चालमा आएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

आयोगका अनुसार शनिवारबाट वडा अधिवेशन शुरु भई राष्ट्रिय सम्मेलन सम्पन्न हुँदा देशैभरबाट तीन लाख प्रतिनिधि चयन हुनुका साथै ८ हजार समिति गठन हुनेछ ।

निर्वाचन कार्यक्रमअनुसार मंसिर ११ गते सबै पालिकास्तरीय, मंसिर २५ गते प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

आयोगले प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु गठन गरेको छ ।

केन्द्रीय निर्वाचन अयोगकातर्फबाट पत्रकार सम्मेलनपछि आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीलाई विधि, पद्धति र प्रक्रियाका आधारमा संगठित गर्दै आम नेपाली जनताका समस्याहरु समाधान गर्ने नयाँ पार्टी निर्माणको योजना अन्तर्गत सम्पन्न हुन गइरहेको निर्वाचन माओवादी पार्टीको जीवनमा ऐतिहासिक महत्वको निर्वाचन बन्न पुगेको उल्लेख छ ।

Advertisement
nepal life insurencenepal life insurence



यस्तै, शुक्रबार नै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै सबै वडाहरुमा सम्मेलन सफल हुन सकुन् भन्दै शुभकामना ब्यक्त गरेका छन् ।

समाजवाद निर्माणका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं’ भन्ने मुल ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक रहेको महराले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया