राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ दल दर्ता

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् ।
निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो । दल दर्ताको अन्तिम दिन शनिवार नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता गराएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा), ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाल परिवार दलले निर्वाचन आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ । आयोगको बैठक डाकेर ती दलहरूलाई निर्वाचन चिह्न प्रदान गरिने प्रवक्ता शर्माले जानकारी दिए ।
आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रियसभाको निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा एमालेका आठ, नेकपा एसका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन सदस्य छन् ।
निर्वाचन आयोगले निर्वाचनका लागि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लामा पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।
५ सय ३२ जना प्रदेशसभा सदस्य, १ हजार ४ सय ९३ गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूले राष्ट्रिय सभा सदस्यलाई मतदान गर्न पाउनेछन् ।
प्रतिक्रिया