आइतबार, पुष १३, २०८२

काभ्रेमा विद्युतीय राहदानी वितरण सुरु

मेरोन्यूज २०७८ माघ १६ गते १७:१२

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आइतबारदेखि विद्युतीय राहदानी वितरण सुरु गरिएको छ ।

यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताइन् ।

सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताइन् ।

घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपिलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।

भरेको फर्म सिधैँ राहदानी विभागमा जाने भएकाले छिटो र सहज तरिकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने उनको भनाइ छ ।

विद्युतीय राहदानी फर्म भर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भर्नुपर्ने भएकाले त्यसको लागि राष्ट्रिय परिचयपत्र नलिएकालाई सो सेवा पनि सँगसँगै दिने काम भएको काभ्रे जिल्ला प्रशासनले गरेको छ ।

प्रतिक्रिया