बिहीबार, माघ १, २०८२

प्रक्रिया पूरा गरी विदेशमा अध्ययन गर्न जान आग्रह

मेरोन्यूज २०७८ माघ २५ गते ७:४०

काठमाडौँ । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान आग्रह गरेका हुन् ।

गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृत सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्था, अनधिकृत इजाजत नलिई अनलाइन विज्ञापन गर्ने शैक्षिक संस्था, अवैध विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधिका रूपमा कार्य गर्ने व्यक्तिउपर सरकारले निगरानी बढाएको बताएको छ ।

प्रवक्ता पोखरेलले गैरकानुनी रूपमा काम गरेका व्यक्ति एवं संस्थामाथि नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए नेपाली कूटनीतिक नियोगमा जानकारी, सूचना वा उजुरी दिन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया