शुक्रबार, माघ २, २०८२

हिउँ पन्छाएपछि पाँचौँ दिनमा हवाई सेवा सुरु

मेरोन्यूज २०७८ माघ २५ गते ८:५३

काठमाडौँ । हुम्लाको अन्तर जिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो ।

विमानस्थल, एयरलाइन्स, विमानस्थलका सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाई जहाज सञ्चालनमा आएको हो । पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्य सम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ ।

हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ । नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन् ।

यस्तै, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ । पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य वस्तुको अभाव भएको थियो ।

हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ । सीता र तारा एयरले जिल्लाका लागि उडान भरेका थिए ।

प्रतिक्रिया