मंगलबार, वैशाख ८, २०८३

‘ए’ डिभिजन लिगः ब्रिगेड ब्वाइज र च्यासल तथा फ्रेण्ड्स र जावलाखेल बराबरी

मेरोन्यूज २०७८ फागुन ३ गते १९:५३

काठमाडौं । ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबारकै अर्को खेलमा तीन गोललेपछि परेको फ्रेन्ड्सले उत्कृष्ट पुनरागमन बराबरी खेल्दै जावलाखेल युथ क्लबविरुद्ध अंक खोस्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडले तालिकाको पुछारमा रहेको टोली च्यासलसँग रोकिन पुगेको हो ।

रेलिगेशन संकट टार्न जितको खोजीमा मैदान उत्रिएका दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए ।

पहिलो हाफमा च्यासलमाथि हावी भएको ब्रिगेडको अग्रतपंक्तिको लाईन चल्न असफल रहेको थियो । सोही क्रममा खेलको छैटौं मिनेटमा मनोज राईको कर्नरमा ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउको फ्रि हेडर पोस्टमाथिबाट बाहिरिएको थियो ।

१४ औं मिनेटमा च्यासलका अजित गुरुङको क्रसमा विकास मेराग्लियाको प्रहार निकै फितलो भएको थियो ।

१६ औं मिनेटमा ब्रिगेडका मनोज राईको फ्रि–किक पोस्ट माथिबाट बाहिरिएको थियो त्यसपछिको पहिलो हाफको खेलमा दुबै टोली अवसरका लागि मात्र प्रतिस्पर्धा गरे ।

दोस्रो हाफमा पनि दुबै टोली आक्रामक रणनीतिका साथ मैदान उत्रिए । तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्दै तालिकामा यथावत रहे ।

बराबरीसँगै ब्रिगेडले ११ खेलमा ७ अंक जोडेको छ । ब्रिगेड रेलिगेशन क्षेत्र १३ औं स्थानमा रहेको छ । च्यासल पनि ११ खेलबाट ५ अंकका साथ तालिकाको पुछारमा छ ।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न अर्को खेलमा रेलिगेशन क्षेत्र भन्दा एक स्थानमाथि कमजोर अन्तरमा रहेको फ्रेन्ड्सले तीन गोलले पछि परेको अवस्थालाई उल्टाउँदै अंक खोस्न सफल भयो ।

पहिलो हाफमा जावलाखेल युथ विरुद्ध निरिह बनेको फ्रेन्ड्सले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको थियो । पहिलाले हाफमा जावलाखेल हावी हुँदा लोइक एन्जीमी कोउहिमले दुई गोल गरेका थिए भने रुप बहादुर लामाले एक गोल आफ्नो नाममा लेखाएका थिए ।

उता बराबरी गोल फर्काएको फेन्ड्सका लागि दुबै गोल विदेशी खेलाडीले गरे । जमउल एन्थोनी फ्रान्सिओसले दुई तथा नाथनियल जुड ग्रासियाले एक गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन् । बराबरीसँगै फ्रेन्ड्सका रेलिगेशनबाट बच्ने सम्भावन जिवितै रहेको छ ।

बराबरीले फ्रेन्ड्स रेलिगेशन क्षेत्र भन्दामाथि गोल अन्तरका आधारमा १२ औं स्थानमा अटाएको छ भने जावलाखेल १० खेलबाट एक माथि ११ औं स्थानमा छ ।

लिगमा बुधबार तीन खेल हुनेछन् । एन्फा मुख्यालयमा दिनको १ बजे हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ ।

दिउँसो १ बजे नै दशरथ रंगशालामा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्र र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दशरथ रंगशालामा नै हुने दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया