शुक्रबार, फागुन २२, २०८२

‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर बजारका लागि सकारात्मक’

मेरोन्यूज २०७८ फागुन ९ गते १९:४९

काठमाडौं । शेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर बजारको लागि सकारात्मक रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको विषयमा प्रतिक्रिया दिँदै शेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गरे ।

भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको शेयर कारोबार भइरहेको र प्रत्यक्ष शेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा शेयर कर्जा घटाएको कारण बजार बिग्रियो उपयुक्त नभएको बताए ।

पछिल्लो समय छोटो समयमा धेरै कमाउने ढङगले नियोजित रुपमा शेयर बजारमा चलखेल गर्नको लागि मौद्रिक नीतिको असर भन्ने गरिएको उनले बताए ।

राष्ट्र बैंकले शेयर कर्जामा ४÷१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने भन्दै भट्टराईले लगानीकर्ता आफू सक्षम भएर समाचारको पछि लाग्न नहुने जानकारी दिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको भट्टराईले दाबी गरे ।

अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उनको भनाइ छ ।

उनले सरकारले छोटो तथा लामो समय कारोबार गर्ने शेयर लगानीकर्ता छुट्याउनु पर्ने पनि उल्लेख गरे । सरकारको उद्देश्य शेयर बजारलाई दीर्घकालिन लगानी ल्याउने भएकाले लामो समय शेयरमा लगानी गर्नेलाई सहुलियत र छोटो समयमा नाफाको लागि कारोबार गर्ने लगानीकर्तालाई कर बढी लगाउनु पर्ने उनको सुझाव छ ।

तर, यता नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा धितोकर्जामा ४÷१२ को सीमा लगाएर परिमार्जन नगर्नु शेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि भएको बताइन् ।

शेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको उनको भनाइ छ ।

उनले अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले शेयर बजारको लागि बन्ने नीति एक हप्ता,एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गरिन् ।

अध्यक्ष पोखरेलले शेयर बजार लगानीकर्ताको सेन्टिमेन्टले चल्ने भएकाले नियामक निकाय तथा जिम्मेवार नेतृत्वले संयमित भएर बोल्नुपर्ने पनि सुझाव दिइन् ।

अध्यक्ष पोखरेलले. पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, बजारमा तरलताको चरम अभाव, विभिन्न समयमा शेयर बजार प्रति फैल्याउने अफवाह, पछिल्लो समय एमसीसीको कारणले बजारलाई प्रत्यक्ष असर परेकाले लगानीकर्ताले निर्धक्क रुपमा शेयर बजारमा लगानी गर्ने अवस्था नभएको दाबी गरिन् ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै कर्जा लगानीमा थप कडाई गरेको छ । राष्ट्र बैंकले समिक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत कर्जा, शेयर धितो कर्जा , जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने नीति ल्याएको छ ।
मौद्रिक नीतिमा अन्तर बैंकिङ ब्याजदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशतले थप गरी ७ प्रतिशत कायम गरिएको छ ।

प्रतिक्रिया