शुक्रबार, माघ १६, २०८२

हेटौँडामा बर्डफ्लू भेटियो, साढे तीन हजार कुखुरा नष्ट

मेरोन्यूज २०७९ वैशाख १६ गते १५:१३

काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । बर्डफ्लू भेटिएसँगै तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगर ७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो । यससँगै प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।

कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ संख्यामा कुखुरा मरेसँगै शंका लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौँ पठाइएको थियो । त्यसको सात दिनपछि बिहीबार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौँडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।

प्रतिक्रिया