नौ वटा मतपत्र गायब भएपछि एमालेका कार्यकर्ता आन्दोलनमा

सर्लाही । मत पेटिकाबाट नौ वटा मतपत्र गायब भएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन् । लालबन्दी नगरपालिका ८ मा मत पेटिकामा खसेभन्दा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् ।
आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार ४२७ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, अहिले मतगणनाको क्रममा मत पेटिका खोल्दा एक हजार ४१८ वटा मतपत्र मात्रै भेटिएको थियो ।
नौ वटा मतपत्र हराएको भन्दै एमालेका कार्यकर्ताहरुले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् ।
यता, लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराति नै लालबन्दी ८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा गरेको छ । पाख्रिन चार सय ६० मतसहित विजयी भएका थिए ।
निकटतम प्रतिस्पर्धीको रुपमा देखिएका एमालेका उम्मेदवार सुवास पाख्रिनले ४४४ मत मात्र पाएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ ।
लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएभन्दा नौ मत कम देखिएको स्वीकार गरे । उनले यसबारे निर्वाचन आयोगमा पत्र लेखेर पठाउने तयारी गरिरहेको बताए ।
प्रतिक्रिया