एकीकृत समाजवादी : एमालेसँग छुट्टिएको जनमत सुरक्षित
गत स्थानीय निर्वाचनका ९.९४ प्रतिशत जनप्रतिनिधिले एमाले छाडेर नेकपा एसमा आए, अहिले त्यत्ति नै जनप्रतिनिधि विजय भए

काठमाडौं । माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा कति पालिका जित्ला ? विगतमा एमालेबाट अलग हुँदा आफूसँग गएका संख्याको जनप्रतिनिधि जोगाउन सक्ला ? या त्योभन्दा बढी मात्रामै उसले जित निकाल्न सक्ला ?
वैशाख ३० को चुनावअगाडिसम्म राजनीतिक वृतमा धेरैले चासोपूर्वक हेरेका थिए, नेकपा एसलाई । वर्षाैं मेहनत गरेको एमाले पार्टी चटक्क छाडेर माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूले गत भदौमा एकीकृत समाजवादी गठन गरे ।
त्यसयता ७ महिना मात्र यो पार्टीले समय पाएको थियो । संघारमा स्थानीय तह निर्वाचन आयो । अन्य दलका बनिबनाउ संगठन भए पनि यो पार्टीलाई तलैदेखि पूर्ण रुपमा संगठनको संरचना तयार पार्ने, संगठन निर्माण गर्ने र कार्यकर्ता संगठित गर्नु पर्ने दबाबमा थियो ।
अझ स्थानीय तहमा सत्ता गठबन्धन दलका बीचमा तलैसम्म गठबन्धन गरेर जाने केन्द्रीय नीति भए पनि महानगर र उपमहानगरका मुख्य पदमा केन्द्रीय तहबाटै गठबन्धन भयो । स्थानीय आवश्यकताका आधारमा अन्य ठाउँमा पनि तालमेल र गठबन्धन बन्यो । तर, माधव नेपालले सोचे जस्तो ७५३ पालिकामै गठबन्धन हुन सकेन ।
एकीकृत समाजवादी प्रदेश सांसदको आधारमा सुदूरपश्चिम र मधेस प्रदेशमा ठूलो दल बन्न त सफल रह्यो । तर आफू केही तुलनातमक रुपमा बलियो रहेको प्रदेशका स्थानीय तहमै एकीकृत समाजवादीले बलियो गठबन्धनको साहरा पाएन । जसका कारण ती प्रदेशमा माधव नेपालको पार्टीले करिब एक्लै र कतिपय स्थानमा माओवादी केन्द्रसँग मात्र चुनावी तालमेल गर्न बाध्य भयो ।
जसका कारण उसले निर्वाचन परिणाममा सोचेजस्तो पोजिसन बनाउन सकेन । ‘गठबन्धन दलका बीचमा सोचेजस्तो सहकार्य हुन सकेन, गठबन्धन भएका ठाउँमा धेरै जसोमा इमान्दारिता देखिएन, जसका कारण परिणाममा हामीले मुख्य पद लिएका ठाउँमा अन्य सहयोगी दलको मत खुलस्त आउन सकेन,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सोही कारण पनि अपेक्षित परिणाम आएन, तैपनि हामीले पार्टी बनाउँदा साथ दिएका जति जनप्रतिनिधि अहिले हामीले जितेका छौँ ।’
एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता गरेपछि केही समय एमालेका निर्वाचित स्थानीय र प्रदेश तहका जनप्रतिनिधिलाई दल रोज्न समय दिइएको थियो । त्यसो हुँदा स्थानीय स्तरमा देशैभर गरेर एमालेका मुख्य पददेखि सदस्यसम्ममा एक हजार ४६३ जना जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी रोजेका थिए ।
त्यसरी रोज्नेमा २३ पालिका प्रमुख थिए । महानगर र उपमहानगरका कुनै पनि प्रमुख, उपप्रमुखले माधव नेपालको पार्टी त्यसबेला रोजेनन् । २३ पालिका प्रमुख, केही उपप्रमुख, केही वडाध्यक्ष र सदस्य गरी सातै प्रदेशकाे संख्या बराबरको २०७४ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी रोजेका थिए । त्यसबेला माधव नेपालको पार्टीमा महानगर र उपमहानगरका कुनै पनि पदाधिकारी थिएनन् ।
तर, अहिले माधव नेपालको पार्टीले एउटा महानगर पोखराको मेयर पद करिब जित्ने स्थितिमा छ । जारी मत गणनामा एकीकृत समाजवादीबाट पोखरा महानगरमा मेयर पदमा चुनाव लडेका धनराज आचार्यले अग्रता लिइरहेका छन् । यही गतिमा मत गणनाको परिणाम आए आचार्यले महानगर जित्ने पक्का हुने भएको छ ।
यस्तै, हेटौँडा उपमहानगरको मेयर यसपटक एकीकृत समाजवादीले जितिसकेको छ । योपटक एकीकृत समाजवादीलाई विगतमा पार्टी बनाउँदा आफूसँग स्थानीय स्तरमा भएको जनप्रतिनिधिको तुलनामा बक्सिस जस्तै बन्न आइपुगेको छ ।
त्यस आलावा अहिलेसम्म उसले १७ पालिका अध्यक्ष जितिसकेको छ । एक उपमहानगर, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीको पक्षमा पुगेको छ । हेटौँडा उपमहानगर जितेको एकीकृत समाजवादीले इलामको सूर्योदय नगरपालिका, सप्तरीको सम्भुनाथ नगरपालिका, रौतहटको गौर नगरपालिका र राजदेवी नगरपालिका जितेको छ ।
यस्तै, धादिङको धुनीबेँसी नगरपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, चितवनको राप्ति नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकामा मेयर पद जितेको छ ।
त्यस्तै, उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष, सदस्य गरी कूलमा एक हजार बढी जनप्रतिनिधि एकीकृत समाजवादीले जितिसकेको छ । ‘पूरा तथ्यांक आएको छैन, तर पार्टी बनाइरहँदा जति जनप्रतिनिधि एमाले छाडेर हामीसँग आउनु भएको थियो, त्यक्ति नै जनप्रतिनिधि अहिले पनि हाम्रो पक्षमा हुनुहुन्छ,’ प्रवक्ता खतिवडाले भने, ′बरु त्यो संख्याभन्दा बढी नै हाम्रो जनप्रतिनिधि हुन्छन्, घट्दैनन् ।’
एकीकृत समाजवादीले तालमेल देशभर मिलाउन सकिएको भए र भएका तालमेलमा सहयात्री दलले इमान्दारितापूर्वक मत दिएको भए पोजिसन निकै राम्रो हुने ठानेको थियो । काठमाडौंको शंखरापुरमा नै तालमेलमा नेकपा एकीकृत समाजवादीले मेयर पदमा भागबन्डा पाएको थियो । तर कांग्रेसको मत आफ्नो दललाई भन्दा राप्रपालाई दिएकाले एकीकृत समाजवादीले थोरै मतले चुनाव हार्न पुग्यो ।
एकीकृत समाजवादीले समग्र गठबन्धनका विषयमा पार्टीको स्थायी समितिको बैठक राखेर समीक्षा गर्ने बताएको छ । ‘एक दुई दिनमै हामी स्थायी समितिको बैठक बसेर समग्र चुनावी समीक्षा गर्छौं,’ प्रवक्ता खतिवडाले भने ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया