बिहीबार, माघ ८, २०८२

७६ जनासँग साढे दुई करोड ठगी गर्ने पाँच जना पक्राउ

मेरोन्यूज २०७९ जेठ १६ गते २१:२६

काठमाडौँ । भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने काममा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका ३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका ८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरीमनोहरा नगरपालिका ७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० वर्षीय सन्तोष प्याकुरेल तथा रुपन्देही देवदह नगरपालिका ५ का ३० वर्षीय राजु भन्ने खुमबहादुर बस्याल रहेका छन् ।

उनीहरुले दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीको सञ्चालक कोमलराज उपाध्यायसमेतको गिरोहले आम्र्स गार्डमा पाँच सय जना आवश्यकता भएको र मासिक तीन हजार दिरामसम्म पाउने भनी प्रलोभनमा पारेर प्रतिव्यक्ति तीन लाख ५० हजारदेखि आठ लाखसम्म ठगेको खुलेको छ ।

गिरोहले फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको पेजमा भ्रमात्मक विज्ञापन राखी आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई दुबईमा पुर्‍याएर काममा नलगाई बिचल्ली बनाएर फरार भएका खुल्न आएको छ ।

उक्त घटनामा संलग्न उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सर्लाही, रुपन्देही र काठमाडौँका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको आज एक सूचना जारी गरी जनाइएको छ ।

हालसम्म ७६ पीडितबाट दुई करोड ४३ लाख ३६ हजार ठगी भएको खुल्न आएको छ ।

प्रतिक्रिया