शनिबार, वैशाख ५, २०८३

फ्लाइओभर र अण्डरपास नबनाऔँ, फोहोर व्यवस्थापनमा जुटौँ : गगन थापा

मेरोन्यूज २०७९ जेठ २४ गते १५:११

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि काम नहुने अवस्था आउने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उनले कसले कम अंकको टेण्डेर हात पार्छ भन्ने होइन, कसले कम समयमै आयोजना सक्छ त्यस्ता निर्माण व्यवसायीलाई टेण्डर दिनु पर्ने बताए ।

उनले ०७२ सालमा पारेको बजेट अहिले पनि कार्यान्वयन हुँदैछ भने यस्तो अवस्थामा एकैपटक धेरै आयोजना छुट्याउन नहुने बताए । सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक आयोजना बनाउन बेहोरेको सास्तीबारे फेहरिस्त प्रस्तुत गरे । उनले सडक समयमै बनाउन भन्दै निर्माण व्यवसायीको घरमा पुगेको, सडक कार्यालयमा धर्नासमेत दिइएको स्मरण गरे ।

उनले अहिले काठमाडौं वरिपरिको सडक फोहोरले भरिएको भन्दै हिजोको नेतृत्वले राम्रो काम नगरिदिएकाले यस्तो अवस्था आइरहेको उल्लेख गरे । फोहोर व्यवस्थापनका विषयमा अहिलेको काठमाडौं महानगर र सहरी विकास मन्त्रालयको नेतृत्वले उचित निर्णय लिइरहेको भन्दै प्रशंसा पनि गरे ।

फोहोर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले नपुग्ने भन्दै उनले यस वर्ष काठमाडौंमा फ्लाइओभर र अण्डरपास नबनाउन सुझाव दिए । फोहोर व्यवस्थापन गर्न अर्बौं रुपैयाँ चाहिने भएकाले उनले फ्लाइओभर र अण्डरपासको काम थाती राखेर फोहोर व्यवस्थापनमा जुट्न आग्रह गरे ।

प्रतिक्रिया