शनिबार, माघ १०, २०८२

क्रिप्टो करेन्सी कारोबारी श्रेष्ठको क्यानाडाबाटै करोडौको अवैध कारोबार

मेरोन्यूज २०७९ साउन १९ गते १२:४७

काठमाडौं । प्रहरीले असार २९ गते विशाल सिमेण्टका पूर्व सञ्चालकलाई पक्राउ गर्यो । उनी क्यानडाबाट आएको समय पारेर प्रहरीले श्रेष्ठलाई काठमाडौंको पानीपोखरीस्थित घरबाट पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर त्यही दिन श्रेष्ठलाई नियन्त्रणमा लिएपछि उनको बैक खातामाथि अनुसन्धान शुरु गर्यो । अमित केही वर्षदेखि धेरैजसो क्यानडामा बस्दै आएका थिए । उनी नेपाल आउनेजाने गरिरहन्थे । प्रहरीका अनुसार करिब डेढ महिनाअघि मात्र उनी नेपाल आएका थिए । ‘डेढ महिनादेखि काठमाडौमा थिए भन्ने सूचना थियो हामीले अनुसन्धान केही तथ्यहरु फेला पारेका थियौ’, कार्यालयका एसपी कृष्ण कोइरालाले भने ।

उनले क्यानडाको पीआर लिएको दुई वर्षमात्र भएको छ । उनले क्रिप्टोको कारोबार भएको भन्ने सूचना प्रहरीलाई आएको थियो । त्यसैको आधारमा प्रहरी व्यापारी श्रेष्ठलाई घरबाटै उठाएको थियो । प्रहरीले उनको घरबाट दुईवटा ल्यापटप र मोबाइल बरामद ग¥यो । ४१ वर्षका अमित श्रेष्ठको साथबाट बरामद भएका मोबाइल र ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो । ल्याबको रिपोर्ट आएपछि मात्रै उनको कारोबारबारे खुलेको थियो ।

प्रहरीले उनको बैक कारोबार पनि हेर्यो । जब बैकको कारोबार हेर्यो तब प्रहरी झन आशंकित भयो । कमर्सियल वेल्थ बैंकबाट १ लाख ९४ हजार २ सय ८५ हजार डलरको कारोबार भएको देखियो । त्यस्तै रोयल बैंक अफ क्यानडामा पनि १८ लाख ७४ हजार ४ सय २१ डलरको कारोबार भएको थियो । त्यही बैंकमा सेयरको कारोबारसमेत भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीको दावी छ ।

विदेशी बैंकमा मात्र होइन श्रेष्ठको नेपाली बैंकको खातासमेत प्रयोग गरेको अनुसन्धानमा देखिएको छ । एभरेस्ट बैंकमा २ करोड ६ लाख ६ हजार ६ सय ९२ र एनआइसी एसिया बैंकमा ६५ लाख २४ हजार ९ सय रुपैयाँ कारोबार भएको देखिन्छ । त्यसैगरी नेपालमा विभिन्न कम्पनीहरूमा सेयर लगानी रहेको पाइएको छ ।

त्यस्तै नबिल बैंकमा क्यानेडियन ६७ हजार ५ सय ९६ डलर र ६५ लाख रुपैयाँ कारोबार भएको अनुसन्धानमा खुल्न आएको एसपी मैनालीले जानकारी दिए । यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीमा जग्गा, महानगरपालिका वडा नम्बर ३ लाजिम्पाटमा जग्गा, पानीपोखरीमा थ्री–ए टु अपार्टमेन्ट गरी जम्मा ४ लाख ४९ हजार १९ डलरको सम्पत्ति रहेको देखिएको छ ।

उक्त रकम तथा कारोबार शंकास्पद भएकाले अमित श्रेष्ठविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मैनालीको भनाई छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनी ३३ किलो सुन प्रकरणमा समेत मुछिएका पात्र हुन् । विशाल सिमेण्टमा भने उनको थोरै मात्रै लगानी रहेको छ । अहिले केही रकम लिएर उनी सानो लगानीमा सीमित भएको स्रोतको दावी छ । उनी अहिले क्रिप्टो करेन्सी, अनलाइन नेटवर्किङ व्यवशाय गरिरहेको प्रहरीको दावी छ । प्रहरीको अनुसन्धानमा नेपालभित्र गाउँ गाउँमा क्रिप्टोकारोबारी भएको र त्यसको सञ्जालमा श्रेष्ठ पनि रहेको देखिएका छ । अहिले देशभित्र विदेशी मुद्राको सञ्चित कम भएकाले विलासिताका वस्तुहरू आयात गर्न रोक लगाएको छ । तर क्रिप्टो कारोबारबाट वस्तु आयात गर्न रकम पठाइएको समेत देखिएको छ । व्यापारीहरूले क्रिप्टोबाट नै केही देशमा रकम पठाएको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए । पछिल्लो पटक पक्राउ परेका अमितलाई पनि ठूलो क्रिप्टो कारोबार गर्नेमा राखेर अनुसन्धान गरिरहेको छ ।

सो कारोबारमा श्रेष्ठ नयाँ पात्र र कारोवारी होइनन । यसअघि राजस्व अनुसन्धान विभागले ३७ करोड बिगोसहित कैलालीका दिनेश खड्काविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि नेपालमा पनि क्रिप्टो कारोबार धेरै भइरहेको तथ्य बाहिर आएको थिया े। महानगरीय अपराध महाशाखाको टोलीले गत माघ ६ मा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरेको थिया े। त्यस्तै माघ १८ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्युरोडबाट ३० वर्षीय रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई नियन्त्रणमा लिएको थियो । अधिकारीले प्रयोग गर्ने मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोको कारोबार भएको खुल्न आएको थियो ।

त्यसपछि झनै क्रिप्टोमा संलग्न पक्राउ पर्न थालेका थिए। झापा बिर्तामोडका २२ वर्षीय अनुप मिश्रलाई पनि प्रहरीले क्रिप्टो कारोबारमा संलग्नताको आरोपमा नियन्त्रणमा लिएको थियो । उनले ३५ करोड ४६ लाख ८३ हजार रुपैयाँ कारोबार गरेको देखियो । उनले क्रिप्टो कारोबारका लागि ब्यालेन्स एकाउन्ट खोलेर विभिन्न २० वटा क्रिप्टोकरेन्सीहरु जम्मा गरी कारोबार गरेको देखिएको छ । एक वर्षको अवधिमा ती युवकले नै उनले ३५ करोड रुपैयाँभन्दा बढी कारोबार गरिसकेका थिए । अनुपले आफ्नो नभएर दाइको नाममा समेत खाता खोलेर कारोबार गरेका थिए । सन् २०२१ मे देखि कारोबार गरेको खुलेको छ। उनले छोटो समयमा नै लाखौं रुपैयाँ कमाइसकेका थिए । त्यसपछि सरकारले क्रिप्टो करेन्सी, अनलाइन नेटवर्किङ, हाइपर फण्ड लगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले सहसचिवको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो । फागुन ३ गते कार्यदलको बैठक बसेको भएपनि त्यसपछि कार्यदल नै निष्कृय बनेको छ ।

प्रतिक्रिया