बुधबार, माघ १४, २०८२

हेटौँडामा चक्कु प्रहार : आरोपीलाई पक्राउ गर्न प्रहरीको आनाकानी !

मेरोन्यूज २०७९ पुष ९ गते १६:५०

काठमाडौँ । मकवानपुर हेटौंडा उपमहानगर २ बागमती प्रदेश सरकारको अर्थ मन्त्रालय नजिक एक व्यवसायीमाथि चक्कु प्रहार गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको छ । घटना भएको दुई हप्तासम्म प्रहरीले मुख्य आरोपीहरुलाई पक्राउ नगरेको हो ।

गत मंसिर २५ गते दिउँसो करिब ३ बजे बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय नजिक प्रहरीकै अगाडि स्थानीय ब्यवसायी दानिल न्यौपानेमाथि चक्कु प्रहार भएको थियो ।

न्यौपानेमाथि हेटौँडाका हेमन्त थापा मगर, असिम बतौला, सुवर्ण लामा र रामकुमार रायमाझीले चक्कु प्रहार गरेको हत्याको प्रयास गरेका थिए । न्यौपानेको शरीरको ७ ठाउँमा चक्कु प्रहार भएको थियो । उनी हाल उपचारका लागि काठमाडौँमा छन् ।

घटना भएको पर्सीपल्टै मंसिर २७० गते न्यौपानेका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ज्यान मार्ने उधोगमा जाहेरी दिएर प्रहरीले मुद्दा दर्ता गरेको थियो । तर अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।

ज्यान मार्ने उद्योगमा जाहेरी परेकाहरु खुलेआम घुमिरहेका छन् । जसमध्यका सुवर्ण लामाले अहिले पनि न्यौपानेलाई खुलेआम आफ्नो फेसबुक मार्फत धम्की दिईरहेका छन् । लामाले फेसबुकमा म्यासेज गर्दै न्यौपानेलाई अब फेरि प्लानिङ गरेर आक्रमण गर्ने धम्की दिएका छन् ।

प्रहरीले आरोपितहरुलाई समयमै पक्राउ नगरेकोमा पिडित न्यौपाने दुखित छन् । ‘कानुन प्रति आशा भरोसा सबै छ । त्यसैले समयमै उजुरी दर्ता गरेको हौँ । तर, अहिलेसम्म प्रहरीले पक्राउ नगर्दा बिभिन्न शंका र प्रश्नहरु उब्जिएका छन्’, न्यौपानेले गुनासो गर्दै भने, ‘अहिले पनि आक्रमण गर्नेहरुले फेसबुकमा म्यासेज गरेर फेरि आक्रमण गर्छु भन्ने, चरित्र हत्या गर्ने गरि स्टाटस लेख्ने गरिरहेका छन् । तर, प्रहरीले समात्न सकेको छैन् । यद्यपी प्रहरीले न्याय दिन्छ भन्ने आशा नै छ ।’

यता मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतम भने छिट्टै आरोपितहरुलाई पक्राउ गर्ने बताउँछन् । ‘फरार भएकाहरु लोकेसन फेर्दै भागिरहेका छन् । हामीले अन्य जिल्लाका प्रहरीहरुसँग पनि समन्वय गरेका छौँ । हाम्रो टोली पनि खटिरहेका छौँ’, एसपी गौतमले भने, ‘छिट्टै पक्राउ गरेर कानुनी कारवाही गर्नेछौँ ।’

फरार भएका लामाले सामाजिक सन्जालमा न्यौपानेको चरित्र हत्या गर्ने गरि लेखेको स्टाटसको बिषयमा पनि आफु जानकार भएको बताउँदै त्यस बिषयमा पनि कारवाहीका लागि साइबर ब्यूरोमा पत्र काटिसकेको एसपी गौतम बताउँछन् ।

प्रहरीले जे जस्तो भने पनि घटना प्रकृत्ति हेर्दा आक्रमणकारीहरुलाई पक्राउ गर्न प्रहरीको भूमिका सन्तोषजनक देखिँदैन् । सामाजिक सन्जालमा नियमित अपडेटमा रहेकाहरुलाई प्रहरीले चाहेको खण्डमा केही घण्टा भित्रै लोकेसन ट्रेस गरेर नियन्त्रणमा लिन सक्छ ।

प्रतिक्रिया