बिहीबार, माघ १५, २०८२

महिना दिनपहिले हराएका बालकको शव फेला

मेरोन्यूज २०७९ पुष १० गते २१:०२

काठमाडौँ । वीरगञ्जमा झण्डै एक महिना पहिले अपहरणमा परेका एक बालकको हत्या गरी शौचालयको सेप्टी ट्यांकीमा फालिएको अवस्थामा आइतबार शव फेला परेको छ । 

वीरगञ्ज महानगर २५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षीय छोरा निरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ । 

वीरगञ्जको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका रुमान् पासवानका छोरा निरज गत मंसिर ५ गते सम्पर्कविहीन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय विर्तामा निरजको खोजतलासका लागि निवेदन दिएका थिए । 

त्यसको चार पाँच दिनपछि अपरिचित व्याक्तिहरूले बुबा श्रीमान् पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैयाँ फिरौती माग गरेपछि निरज अपहरणमा परेको खुलासा भएको थियो । 

त्यसपछि निरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए । 

प्रहरीले निरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुई जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो । 

उनीहरूले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट निरजको शव फेला पारेको हो ।

प्रतिक्रिया