आइतबार, चैत २९, २०८२

आफ्नै कठिनाइमा मनाङ : हिउँ परेपछि ठप्प जनजीवन

मेरोन्यूज २०७९ पुष १८ गते १२:०९

काठमाडौँ । जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् ।

Advertisement
nepal life insurencenepal life insurence

चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् ।

गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङका सडक, पुल, जलविद्युत्लगायतका विकास निर्माणका काम रोकिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताउँछन् ।

“सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा सिमेन्ट प्रयोग हुने कार्य रोकिएको छ, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा संरचना निर्माणको काम गर्न सकिँदैन”, उनले भने ।

हिउँ नै नपरे पनि चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जय विष्टले बताए । “हिउँका कारण सिमेन्ट प्रयोग गरी निर्माण गरिने माथिल्लो मनाङको संरचनाका काम गर्न सकिँदैन, यहाँको काम वर्षमा तीन महिना मात्रै गर्न पाइन्छ”, उनले भने ।

मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए । अन्य जिल्लाको दाजोमा प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न कठिन रहेको उनको भनाइ छ । सो सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ ।

मनाङको सहज यातायातका लागि सङ्घ सरकारले विशेष रुपमा सडक तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । तीन करोड १४ लाख बजेट विनियोजन भएर तल्लो मनाङ तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

मनाङको तिमाङमा २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा मौसम प्रतिकूल भएपछि केही ढिलाइ हुने भएको कार्यालयले जनाएको छ ।

सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले कूल ६० करोड विनियोजन गरेको छ ।

बहुवर्षीय रुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट विनियोजन हुँदै आएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीशहर–चामे सडकखण्डलाई चौँडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बाटो बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।

विद्यालय तीन महिना बन्द

मनाङका विद्यालयले गत मङ्सिर अन्तिम सातामा परीक्षा सकाएर अहिले जाडो बिदा भएको छ । मौसम प्रतिकूलताले गर्दा यहाँका विद्यालय सञ्चालन गर्न सकिँदैन । यहाँका विद्यार्थीले अर्धवार्षिक परीक्षा दिएर जाडो छल्न बेँसी गएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपागाईंले बताए ।

“परीक्षा सकाएर विद्यार्थी जाडो छल्न बेँसी झरेका छन्, अब करिब चैतको पहिलो साता मात्रै पठनपाठन गर्न आउँछन्”, उनले भने, “जाडोमा अभिभावकसँगै विद्यार्थी जाडो छल्न जान्छन्, जाडो छल्न जाने यहाँका मानिसको प्रचलन जस्तै बनेको छ । अर्धवार्षिक परीक्षा सकाएर बेँसी झरेका छन्, जाडो सकिएपछि फागुनको अन्तिम वा चैतको पहिलो साता मनाङ फर्किन्छन् ।”

चामेमा २४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासोंमा १५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमिमा २५ विद्यार्थीका लागि नौ गरी कूल १६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको एकाइले जनाएको छ ।

मुख्य आम्दानीको स्रोत

यहाँको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय र जङ्गली जडीबुटी हुन् । अझ मुख्य स्रोतका रुपमा जङ्गली जडीबुटीलाई लिने गरिएको छ । यहाँ देशकै महँगो जडीबुटी यार्सागुम्बा, वन लसुन, गुची च्याउलगायत पाइन्छन् ।

जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुने गरेको छ । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुँदै आएको छ ।

मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्करलगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् ।

नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ ।

घर नजिकै गोठ लेकमा लगेर पालिँदै आएका पशुको गोठ जाडोमा घर नजिकै सारिएको छ । चिसो बढ्दै गएपछि यहाँका गाउँ रित्तिदै जान्छन् । चिसोमा भेडाच्याङ्ग्राका पाठापाठी र चौरीका बाच्छाबाच्छीलाई बचाउन बेँसी घर नजिकै गोठ बनाएर पाल्ने गरिन्छ ।

चिसोले जमेको पानी भेडाच्याङ्ग्रालाई खुवाउनै मुस्किल हुने गरेको मनाङ ङिस्याङ–१ का ७४ वर्षीय पशुपालक किसान याङ्दुङ गुरुङ बताउँछन् ।

मनाङका अधिकांश स्थानीय पशुपालनमा आवद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । वर्षातको समय लेक र हिउँदको समय बेँसी झर्ने उनीहरूको परम्परा जस्तै हो ।

अब चैत पहिलो साता मात्रै लेक चढ्ने गर्दछन् । घर नजिक ल्याइएका चौरी, भेडाच्याङ्ग्रा हिमलुङ हिमालको फेदी, आइसलेक, नाम्के लेकको फेदीसम्म चराउन लैजाने गरिन्छ ।

पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै राखिने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कमा लैजाने गरिन्छ । पानी नपरे पनि गोठ नै पुरिने गरी तुसारो परेपछि पशुपालक बेँसी झर्ने गर्दछन् । यसवर्ष छिट्टै चिसो बढेको मनाङवासीको भनाइ छ ।

विगतमा गाउँका अधिकांश मानिसले भेडाच्याङ्ग्रा र चौंरी पाल्ने गर्थे । युवाहरू पर्यटन व्यवसायतर्फ लाग्न थालेपछि पशुपालन कम हुँदै गएको छ । अरु व्यवसायको तुलनामा पशुपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवाले गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो दिन छाडेका छन् ।

यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन् भने केहीले पशुपालन छाडेर पर्यटन व्यवसायतर्फ लागेका छन् । पर्यटन व्यवसाय सञ्चालनका लागि पनि पशुपालन आवश्यक हुने हुँदासम्म यहाँका युवा कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् ।

प्रतिक्रिया