मंगलबार, चैत १०, २०८२

लालुपाते सहकारीमा बचत अपचलन गर्ने अध्यक्ष जोशीलाई मुद्दा चलाउन निर्देशन

मेरोन्यूज २०७९ माघ १५ गते ७:३३

खोटाङ ।   प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलनमा मुछिएका तत्कालिन अध्यक्ष अनिल जोशी एबं उनका परिवार बिरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्धा चलाउने वा असुलउपरको प्रकृया गर्न निर्देशन दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को लेखा परिक्षणका क्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको आठ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसुरमा मुद्धा चलाउन वा असुलउपरको प्रकृया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो । 

लेखा परिक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको नौ करोड ११ लाख १७ हजार ६७८ रुपैयाँमध्ये सहकारी बैंकले धितो लिलाम गरेर आफ्नो ८० लाख असुलउपर गरेको थियो । यस्तै पछिल्लो हिसावका क्रममा जोशी र उनको परिवारका नाममा थप १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ । यद्यपी जोशीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानविन गरेको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सबै खालका कारबाहीका प्रकृया अपनाउन सुझाव दिएको छ । 

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो ।

उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । सहकारीका तत्कालिन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । 

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सबै सञ्चालकहरुले साविकमा भएको हिनामिना तथा बेरुजु असुलउपरका लागि कारबाहीका सबै प्रकृया गर्ने, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुलउपर गर्ने वा मालपोत कार्यालयमा रोक्का राख्ने प्रकृया गर्न, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजाने लगायतका १६ बुँदे निर्देशन पठाएको छ ।

निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न विनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुलउपरको प्रकृया अघि बढाउन, आवश्यक परे हिनाहिनाको मस्यौटमा दोषी भएकाहरु उपर सम्वन्धित अदालतमा मुद्धा दायरसम्म गर्न, सम्वन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्का गर्न, पुरानो सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिलाई बोलाई हिनाहिना छानविन र बिनाधितो ऋण लगानी सुरक्षित गर्ने कामका लागि सहजीकरण गर्न, कोपोमिसको पासवर्ड लिइ वित्तीय विवरण अद्यावधिक गर्न लगायतका विषय उल्लेख छ । 

यस्तै, संस्थाका कर्मचारीलाई कार्यालय खोलेर बस्ने वातावरण सिर्जना गर्ने, सुरक्षाको प्रत्याभुतीका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वयको वातावरण सिर्जना गर्न, आर्थिक वर्ष २०७८र०८९ को लेखा परिक्षण सम्पन्न गरी साधारणसभा वा विशेष भेला बोलाएर हिनाहिना र ऋण असुलीको प्रकृया गर्न, समितिले गरेका प्रगति मासिक रुपमा रजिष्ट्रार कार्यालयलाई र नगरपालिकामा पठाउन, संस्था सुधारको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाइ सोको मासिक प्रगती समिक्षा गर्न लगायतका निर्देशन दिइएको छ । 

सहकारीको नाममा खरिद गरिएको जग्गा समेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७र०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालिन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सञ्चालक समितिले जनाएको छ । (न्युज कारखाना)

प्रतिक्रिया