गीत लेखेरै महल जोडेका शिव, जो कुनै बेला सडकमा भौतारिए

पछ्यौरी लेउ बैना, देउरालीको भट्टी पसल, रक्षा गर हरि, कसलाई सोध्नी होला, हास्न सिकायौ, भन्न त भन्छेउ आमा, भैँ ढाक्यो छायाले, कहाँ गयो जुरेली, लाउँछ माया नलाउने हैन नि जस्ता चर्चित र लोकप्रिय गीतका सर्जक हुन्, शिव हमाल ।
उनले सिर्जना गरेका गीतहरूको शीर्षक अझ थप्दै जाने हो भने यो क्रम लम्बिदै जान्छ । आयो फेरि दशैं आयो, झुम्का झलक्कै, चट्टै माया लै लै, भिरमा सेती गाई, सानु कहाँ छौ जस्ता उनले केही गीतहरुमा पनि स्वर भरेका छन् ।
जसरी दर्शक, श्रोताहरूको मनमा उनले लेखेका गीतहरू बसेका, आफैले स्वर भरेका गीत भने छायामा परेको भान भइदिन्छ । बरको डाली, नाच्यो झिल्के, धर्म कर्म गरौं कि माया पिरिम लाउँ बोलका गीतहरूमा शिवले आवाज भरेका छन् । तर, ती कतै छायामा परे जस्तो लाग्छन् ।
‘पछ्यौरी लेउ बैना’… पछि शिवको करिअर उकालो
०६६ मा पछ्यौरी लेउ बैना गीत खुब चल्यो । त्यसपछि पछाडि फर्केर हेर्र्नै परेन उनले । उनको पहिलो रेकर्डेड गीत हो, सम्झनामा आँसु झरेको । ०६३ सालमा पहिलोपटक सर्जक हमालले सम्झनामा आँसु झरेको गीत रेकर्ड गराएका थिए । यस गीतमा गायक राजु परियार र गायिका विष्णु माझीले स्वर भरे । लगानी भने शिव र रामजी खाँडको बराबर थियो ।
दुवै जनाले १२÷१२ हजार रुपैयाँ लगानी गरेका थिए । गीतको लय रामजी खाँडको थियो । त्यही बेला गायिका विष्णु माझीले ६ हजार रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । राजु परियारले पाँच हजार रुपैयाँ मात्र पारिश्रमिक लिएका थिए ।
‘म राजु परियारको क्रेजी फ्यान थिएँ,’ शिव त्यो पल सम्झिदै भन्छन्, ‘उहाँको स्वर यति मीठो लाग्ने कि बयानै गर्न सक्दिन, त्यही बेला उहाँलाई पहिलो चोटी देख्ने मौका पाएँ ।’

यो गीत व्यवसायिक रुपमा कम चल्यो । त्यो बेला त क्यासेटको जमाना थियो । तैपनि उनलाई गीत, संगीतको क्षेत्रमा लागेर बाँच्न सक्दो रहेछु भन्ने लाग्यो । उनको मनमा आत्मविश्वास पलायो । उनले बिस्तारै अरु कामहरू पाउन थाले ।
स्याङ्जा चापाकोट नगरपालिका ४ रमालीमा जन्मिएका शिवले एसएलसीसम्म गाउँमै अध्ययन गरे । त्यसपछि प्लस टु र स्नातक पढ्न पोखरा झरे । उनका मामा राजेन्द्र लम्साल क्षेत्रीको प्रभाव उनको मनमा गहिरोसँग गढेको छ । रेडियो नेपालमा गायकका रुपमा कार्यरत उनका मामाले ०६५ सालदेखि युरोपलाई कर्मथलो बनाइरहेका थिए ।
‘म मा उहाँकै बढी प्रभाव छ,’ हालैको एक बिहानीको भेटमा उनले अनुभव साँटे, ‘रेडियो नै आफ्नो जस्तो लाग्थ्यो, मामाले गीतहरू संकलन गर्नु हुन्थ्यो, उहाँ सुमधुर आवाजको धनी पनि हुनुहुन्थ्यो, मलाई मामा जस्तै हुनुपर्छ भन्ने लाग्थ्यो ।’
यसरी मामाको एकोहोरो प्रभाव शिवको मस्तिष्कमा प¥यो । सानो हुँदा मामासँग उनलाई डर पनि उत्तिकै लाग्थ्यो । जब शिव यो क्षेत्रमा लागे, उनका मामा युरोपतिर बस्न थाले । शिवको पहिलो गीत सार्वजनिक भएपछि ‘तिमी त राम्रो लेख्दा रहेछौ’ भनेर प्रतिक्रिया दिए ।
दोहोरी भनेपछि हुरुक्कै
स्कुलमा पढ्दा शिव दोहोरी भनेपछि हुरुक्कै हुन्थे । जब गाउँमा दोहोरी गीतको प्रतिस्पर्धा हुन्थ्यो, उनी भाग लिन छुटाउँदैन्थे । सहभागी भएपछि पहिलो स्थान हात पारेरै छाड्थे । दौरा, सुरुवालमा चिटिक्क परे जब शिव कार्यक्रममा सहभागी हुन्थे । धेरैको आकषर्णको केन्द्र बन्थे । गाउँ घरमा पूजाआजा गर्नुपर्दा ‘शिव आएन भने क्यान्सिल गरौं’ भन्ने माहोल हुन्थ्यो । दोहोरी गीतको प्रतिस्पर्धा भइहन्थ्यो गाउँमा ।
साँझदेखि दोहोरी गीतको प्रतिस्पर्धाका सुरु हुन्थ्यो । राति १ बजेसम्म चल्थ्यो । पल्लो गाउँकी गायिका प्रतिस्पर्धामा सामेल हुन्थिन् । खसी बाजी राखेको हुन्थ्यो । तैपनि शिवले जितेरै छाड्थे । दोहोरीमा त्यति प्रखर थिए उनी । उनकी आमा भने सामाजिक जागरणमा सक्रिय थिइन् । ०६१ सालपछि शिवले दोहोरी प्रतियोगिताहरूमा भाग लिने क्रम बढ्यो । उनी त्यसैमा खुसी थिए । तर, कहिकतै प्रतियोगितामा भने जितेनन् । ०६२ सालमा भने एकपटक सान्त्वना स्थान प्राप्त गरे । त्यसको एक वर्षपछि उनी गीत लेखन, गायन, कम्पोजिसनमा सक्रिय भएर समर्पित भए ।
काठमाडौँ प्रवेश
०५९ सालको फागुनतिर शिवले काठमाडौँ पाइला टेके । ०६१ सालको चैत २० गतेदेखि दोहोरीमा काम गर्न थाले । दुई वर्ष त उनको सडककै यात्रा भयो । कलाकारितामा केही गर्ने सपनाले राजधानीमा भौतारिए । केही गर्ने, केही बन्ने सपनाले उनलाई चिमोट्थ्यो । त्यो बेला ठमेलमा साली भेना दोहोरी भर्खर खुलेको थियो । उनले त्यसैमा संयोगले काम पाए । तलब थियो, चार हजार पाँच सय रुपैयाँ ।
मालिकले सुरुमा उनलाई मन नपराए पनि पछि भने सबैले उनको प्रस्तुती रुचाए । ०६१ सालदेखि ०७१ सम्म उनले दोहोरीमा काम गरे । त्यो दोहोरी छोड्ने बेला २७ हजार रुपैयाँ तलब थियो । उनले दरबार दोहोरीमा पनि काम गरे ।
साँझ ७ देखि १२ बजेसम्म दोहोरीमा शिवको ड्युटी हुन्थ्यो । ‘मेरो करिअरको टर्निङ प्वाइन्ट नै दोहोरी थियो, एल्बम निकाल्नुपर्छ भन्ने बिर्सिसकेको थिएँ,’ घमाइलो बिहानीमा उनले सुनाए, ‘गायिका सिर्जना विरही थापा मैले काम गर्ने दोहोरीमा आउनु भयो, उहाँसँग दोहोरी गाएँ, दिदीले हामी दोहोरी खोल्दैछाँै, आउनुहुन्छ भनेर सोध्नुभयो, मैले आउछु भनेँ, यति राम्रो प्रतिभा भएको मान्छे, एल्बम निकाल्नुपर्छ भन्नु भयो ।’

त्यो भेटपछि उनले मीठा सिर्जना गरे । मन परेको फूल खसेको, तिम्लाइ मैले नपाउँनु रैछ र यति धेरै माया बसेको जस्ता गीतहरु उनले सार्वजनिक गरे । जसमा लोकप्रिय गायिका विष्णु माझीको आवाज छ । गायिका सिर्जना विरहीको प्रेरणाले उनलाई थप उर्जा मिल्यो । ती गीतहरू सदाबहार चले । त्यसपछि त सिर्जनाको बाढी नै आयो । देउरालीको भट्टी पसल, मुसलधारे पानी प¥या छ जस्ता गीत चलेपछि उनमा थप आत्मविश्वास बढ्यो । जिम्मेवारी बढ्यो ।
फेरि नयाँ–नयाँ गीतहरू रचना गरे । कसलाई सोध्ने होला, सानु कहाँ छौ, पा¥यौ मलाई रुन मायालु जस्ता बोलका गीतहरू दर्शक, श्रोताको मनमनमा बसे । गायिका शान्ति श्री परियारको पहिलो गीत ‘एकतर्फी माया’ उनै शिवले रचना गरेका हुन् । गायक बन्न आएको हो । सर्जक शिव हमालले गायक शिवलाई कहिल्यै माथि उठ्न दिएन ।
शिवले भारतको कुमाउ, गढवालका गीत कैयौं रातभर सुनेर त्यही शैलीका गीत लेख्ने प्रयास गरे । बुझ्ने प्रयत्न गरे । पूर्व पश्चिमका गीतमा पनि भिजौं भन्ने लागेर अध्ययन, अनुसन्धान गर्छन् । युट्युबमा हेर्छन् । नेपालसँग नजिकैका कुमाउ, गढवालका गीत, संगीतले उनको मन छुन्छ । तिनमा म्युजिकको बेग्लै ट्युन भेटिन्छ । सुदूरपश्चिमका गीतप्रति उनको बेग्लै मोह छ ।
‘म त्यहाँ गएर बुझ्न चाहन्छु, केही महिना बस्न चाहन्छु, सुदूरपश्चिमका कलाकारसँग केही सिक्नुपर्छ भन्ने छ,’ उनले आफ्नो योजनाबारे बेलिबिस्तार लगाए ।
गीत लेख्न प्लेनको टिकट क्यान्सिल गरेर माइक्रोमा यात्रा
‘झुम्का झलक्कै…’ शिवको अत्यन्तै रुचाइएको गीत हो । उनलाई कुनै पनि गीतबाट अपेक्षा केही हुँदैन । उनी काममा बढी अपेक्षा राख्छन् । मीठो शब्द फुर्दा यसै आनन्दित हुन्छन् । गीत चलेको भन्दा बढी उनलाई गीत जन्माउँदा बढी खुसी लाग्छ । कुनै कुरा अपेक्षाविपरीत हुन्छन् । सोच्दै नसोचेको गीत बढी चल्छ । धेरै लगानी गरेको गीत कुनै बेला कम चल्छ ।
पोखराबाट यता काठमाडौँ आउँदा जहाजका लागि काटेको टिकट क्यान्सिल गरेर उनी माइक्रोमा आइदिन्छन् । परिवेशले उनलाई आकर्षित गर्छ । राति–राति उठेर पनि उनले गीत लेखेका छन् । बाटोमा हिँड्दा हिँड्दै उनी गीत लेख्छन् । कसैले चिन्ला कि भनेर मास्क लगाएर हिँड्छन् । मानसिक स्थितिले पनि गीतको सिर्जनामा प्रभाव पार्छ । १५ लाख रुपैयाँमा बनाइएको भिडिओ हो, ‘भीरमा सेती गाई’ । कुनै एक लाख रुपैयाँमा बनाइएका गीत पनि हिट् छन् । कुनै १५ लाख रकमको लगानीमा बनाएका गीत पनि चलेनन् । ‘पापाकी परी…’ उनको विवादित गीत हो ।
‘पछ्यौरी लेउ बैना…’
शिव ठमेलको दोहोरीमा काम गर्थे । पोखराबाट दोहोरीमा आउँदै थिए । वीर अस्पतालको अगाडि बाटोमा हिँडिरहेका थिए । कसैले पछ्यौरा ओढिरहेको देखे । आफूलाई त्यो पछ्यौरा ओढाइदिए भन्ने लाग्यो । अनि रचना भयो, ‘पछ्यौरी लेउ बैना…।’
उनको ‘कहाँ गयो जुरेली…’ गीत पनि खुब चल्यो । यस गीतका गायक राजधानी बाहिरबाट रेकर्डिङका लागि आउँदैछन् । यता गीत भने रेडी छैन । नारायणहिटी दरबारमा बाँसको झ्याङ्मा चराचुरुङ्गीहरू कराइरहेका थिए । फेरि त्यही ठाउ आउँदा चराचुरुङ्गीहरू छैनन् । उनलाई फुरिहाल्यो । ‘कहाँ गयो जुरेली…’ यत्ति शब्द मनमा आयो ।
‘तिम्रो जति माया त कसैको लाउँदैन,’ अरु लाइनहरू आएन उनलाई । गायकसँग भोलिपल्ट १२ बजे भेट्ने कुरा थियो । गायक एक्लै कुरिरहेका छन् । सुन्धारा जानु पर्ने मान्छे, शिव त बुढानीलकण्ठ हानिए । त्यो गीत जसरी पनि उनलाई पूरा गर्नु थियो । बाँसबारी, बुढानीलकण्ठतिर गएर उनले गीत पूरा गरे । बल्ल साढे २ बजे उनी सुन्धारा गए । सर म काममा थिएँ भनेर जवाफ दिए । पहिला रिसाएका गायक त्यो जवाफ सुनेपछि हाँसे ।
जब दसैं तिहार आउँछ, शिवले सिर्जना गरेको ‘दसैं रमाइलो…’ गीत खुब बज्न थाल्छ । यस गीतको मेलोडी तीन मिनेटमा तयार भएको थियो । गीत सरल, सरस, मीठास भयो भने रुचाउँदा रहेछन् भन्ने लाग्यो । गीतमा भाबनात्मक प्रतिनिधित्व हुनुपर्छ, मानिसहरूको भोगाइ हुनुपर्छ भन्ने उनलाई लाग्छ ।
कोभिडले विश्व आक्रान्त पारिरहेका बेला, जताततै हरियाली, देशै रमाइलो, गाँवै रमाइलो भन्ने लागेर यो गीत उनले रचना गरेका थिए ।
त्यो बेला शिवको मन दुख्छ
कुनै समय थियो, शिवका गीत साथीहरुले आधा घण्टासम्म गाइदिन्थे । तर, उनको नाम कतै आउँदैनथ्यो । उनलाई भने रुन मन लाग्थ्यो । अहिले भने उनी सिर्जनामै रमाइरहेका छन् । उनका शब्दप्रति आम दर्शक श्रोता, दर्शकहरुले जीवन खोज्न थाल्छन् । अहिले भन्दा बढी त्यो बेला उनको मन दुख्थ्यो । मिडिया कारण चर्चित गीत कसले लेखेको हो भनेर खोजी हुन थाल्यो । उनलाई कर्मले अहिले करोडौं रकम पर्ने सुन्दर घर उपहार दिएको छ ।
उनका अनुसार सर्जकलाई सिर्जना नै प्यारो हुन्छ । भौतिक सम्पत्ति भन्दा सिर्जनाको बढी माया लाग्छ । ‘मसँग घर छ भन्ने भुलिदिएँ, भगवानको आर्शिवादले, दर्शकको मायाले पाएँ,’ उनले भने ‘त्यसलाई मैले ठूलो ठानिनँ, आफूसँग नहुँदा भने ठूलो थियो ।’
विदेश यात्रा
शिवका दुई वटा पासपोर्टमा भिसाको छाप लागेर भरिन लागे । अरु जस्तै अमेरिका काम गर्न जान नपरोस् भनेर उनले अझैं संघर्ष गरिरहेका छन् । भगवान म विदेश जान नपरोस् । यो क्षेत्रमा इमानदारीपूर्वक लागेका साथीहरू अरु पनि जान नपरोस् जस्तो लाग्छ । उनी कहिल्यै विचलित भएका छैनन् । उनी केही प्राप्तिका लागि लागेकै थिएनन् ।
राजधानी प्रवेश गरेका बेला त्यो दुई वर्षको सडकको संघर्षले अभाव, दवाव, भोकमा रमाउन थालिसकेका थिए । तिरस्कार, अपहेलना सहने बानी परिसकेको थियो । बेकारको गीत संगीतमा लागें भन्ने उनलाई कहिल्यै भएन । आफ्नो सोखलाई पेशा बनाउनेहरू भाग्यमानी हुन् । म पनि भाग्यमानी हुँ जस्तो लाग्छ । जुन कुरा उनले मनदेखि गर्न चाहेका थिए, जीवनमा त्यही गरे ।
शिवलाई दक्षिण कोरिया एकदमै मनप¥यो । उनी तीन चोटी कोरिया पुगे । कोरियन फुड् उनी एकदमै मिस गर्छन् । अरु देश घुम्नका लागि दोहो¥याउन खासै मन छैन । अरु देशभन्दा कोरियामा बस्ने नेपालीहरू उनले खुसी भेटे ।
नेपाल जस्तो संस्कृतिप्रतिको प्रेम गर्नेहरू उनले कतै भेटेनन् । कुनै पनि देशमा सिस्टम भए समृद्धि आफै आउँछ नत्र सम्भव छैन भन्ने उनलाई लाग्छ । उनलाई नेपालमा खप्तड घुम्न मन छ ।
नियमित लेखनमा रस
शिव हरेक दिन आधा एक घण्टा लेख्छन् । उनलाई अब उपन्यास लेख्न मन छ । पोखरा जाँदा उनले भागवत गीता पढे । अहिले पनि पढिरहरेका छन् । सफल व्यक्तिका जीवनी, दृष्टिकोण पढ्न उनी असँध्यै रुचाउँछन् । महाभारत उनले कक्षा ५ मा अध्ययनरत छँदा पढिभ्याए । बुबाले हिन्दीमा महाभारत पाठ गर्नुहुन्थ्यो । बुबाले पढेको सुनेर उनमा पनि रुची बस्यो । गाउमा उनको कोठा किताबै किताबले भरिएको छ । उनका बुबा राजनीतिकर्मी, समाजसेवी हुन् ।
उनी देशमा लुकेका संस्कृति, विशेषगरी थारु संस्कृति, मैथिली संस्कृतिलाई बाहिर ल्याउन प्रयासरत छन् । भेगिय संस्कृतिलाई बाहिर ल्याउन, अझ राम्रा काम गर्न सकौं भन्ने लागिरहन्छ । गीत, संगीत र संस्कृति छुटेका चिजलाई पूर्ण गर्न सकौं भन्ने उनको चाहना छ । जीवनशैलीका हिसाबले गायक नारायण रायमाझीलाई देखेर उनी लोभिन्छन् । व्यक्तित्वका हिसाबले महानायक राजेश हमालले उनलाई प्रभाव पारेका छन् । मामाबाट जीवनमा उनी बढी प्रभावित छिन् ।









आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया